LISTEN LIVE RADIO

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा छठी माताकाे पूजा



राष्ट्रपति र प्रधानमन्त्रीद्वारा छठी माताकाे पूजा

काठमाण्डाै १३ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठी माताकाे पूजा गर्नुभएकाे छ । काठमाण्डाै महानगरपालिकाकाे संयाेजनमा कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गइ उहाँले आज साेमवार पूजा, आराधना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले पूजा स्थलमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन् । त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रमा रहेकाे गुह्वेश्वरी मन्दिरअघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गइ सूर्यसहित छठी माताको पूजा, आराधनासहित अर्घ्य दिएकी थिइन् । अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरीलाई झकिझकाउ पारिएको थियो । कमलपोखरीमा व्रतालु र भक्तजनको बाक्लो उपस्थिति थियो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथलीमा रहेकाे बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठी माताको पूजा, आराधना गरेका छन् । प्रधानमन्त्री देउवाले त्यस स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्य र भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजा अर्चना गरिन्छ । काठमाण्डाैकाे गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत नदी किनार र तलाउमा व्रतालुले छठको पूजा गरेका छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवम् छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्यदान गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रौपदीसहित पञ्चपाण्डवको एक वर्षे अज्ञातवास सूर्यको पूजा आराधना गरी सफल भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे