LISTEN LIVE RADIO

आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै, राष्ट्रपतिबाट शुभकामना सन्देश



आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै, राष्ट्रपतिबाट शुभकामना सन्देश

काठमाण्डाै ७ असार । आज विश्व योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्ष ‘मानवताका लागि योग’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको  आह्वानमा सन् २०१५ देखि हरेक वर्षको जुन २१ तारिखमा विश्वभर योग दिवस मनाउन थालिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ  महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले दिवसको घोषणा गर्न पहिलो पटक प्रस्ताव गरेका थिए ।

यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोईरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य देशले समर्थन गरेका थिए । नेपालमा २०४८ साल चैत १५ गतेदेखि काठमाण्डौको नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो ।

आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई महत्त्व दिन्छ । तर योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण र अध्यात्मिकतामा महत्त्व दिँदै आएको छ । हाम्रो सामाजिक र सांस्कृतिक जीवनशैलीसँग जोडिएका वास्तुकला, चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति पाइन्छ ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा सु–स्वास्थ्यको शुभकामना व्यक्त गरेकी छिन् । सन्देशमा योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो । यस कारण योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभएर चिन्तनसहितको क्रिया मानिएको छ । निश्चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

योगको विकासमा नेपाली सभ्यताको योगदानबारे हाम्रा विद्वान–विदुषी, अध्येता एवं योगगुरुहरूबाट प्रशस्त प्रकाश पारिएको छ । नेपालको भूमिमा उद्भव एवं विकास भएको मानिने शिव, जनक, बुद्ध, किरात र बोन सभ्यतामा योगको विशिष्ट स्थान रहेको उल्लेख गरिएको सन्देशमा सामाजिक र सांस्कृतिक जीवनशैलीसँग जोडिएका वास्तुकला, चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति रहेको र योगलाई हाम्रो शिक्षाको अङ्गका रूपमा विकास गर्दै यसबारे हुने अध्ययन अनुसन्धानलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे