बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम



बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोनासँगै सरुवा रोगको जोखिम

काठमाण्डाै ५ कार्तिक । बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोना भाइरससँगै सरुवा रोगको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् ।

प्रभावित क्षेत्रमा सामूहिक रुपमा बस्ने हुँदा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्दा कोरोनासँगै झाडापखाला, आउँ, हैजालगायत पानीजन्य रोग फैलने जोखिम हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताए ।

दूषित पानी तथा खानाका कारण हुने रोगबाट बच्न, सफा पानी र शौचालयको प्रयोग गर्नुपर्ने डाक्टर पौडेलको सुझाव छ । सकेसम्म उमालेको पानी पिउन र त्यो सम्भव नभए पानीलाई निर्मलीकरण गरेर मात्र पिउन उहाँको आग्रह छ । यस्तै, उनले उद्धार गरिएका व्यक्तिलाई राखिने ठाउँमा आवश्यक दूरी कायम गराउन, शौचालय तथा सफा पानीको व्यवस्थापन गर्न सम्बन्धित पालिका र उद्धारमा जुटेकाहरुलाई अनुरोध गरेका छन् ।

पौडेलका अनुसार अहिलेसम्म बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कुनै रोग तथा सङ्क्रमण भने देखिएको छैन। तर, जोखिम उच्च रहेकाले आवश्यक सावधानी भने अपनाउनु पर्नेमा उहाँको जोड छ । उनका अनुसार रोगको सम्भावित जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रतिकार्यका लागि प्रदेश र पालिकाहरुका समन्वय थालेको छ ।

कुनै रोग तथा महामारी देखा परेमा उपचार तथा प्रतिकार्यका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्री आवश्यक परेमा तत्काल खबर गर्न पनि उहाँको आग्रह छ । औषधि तथा स्वास्थ्य सामग्री थप आवश्यक पर्ने भएमा तुरुन्त उपलब्ध गराउने उनको भनाइ छ ।  अहिलेसम्म पालिका र प्रदेशमा नै औषधि र स्वास्थ्य सामग्री पर्याप्त रहेको जानकारी आएको उनले बता ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे