एमालेकाे १० औँ महाधिवेशन चितवनमा हुने



एमालेकाे १० औँ महाधिवेशन चितवनमा हुने

काठमाण्डाै ५ कार्तिक । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा  बिहीवार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मङ्सिर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो ।

यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका थियो । तर हिजाेको बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीसमेत गठन गरेको छ । प्रवक्ता ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित सातै प्रदेशबाट एक/एक जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट समेत एक जना प्रतिनिधि रहने बताए ।

बैठकले पार्टीको भर्खरै सम्पन्न विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै सहयोग गर्ने सबैप्रति धन्यवादस मेत दिएको छ । एमाले स्थायी समिति बैठकले पार्टीको विधान महाधिवेशनले पार्टीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको निष्कर्ष पनि निकालेको प्रवक्ता ज्ञवालीले बताए । उनले भने, ‘पार्टीको भर्खरै सम्पन्न विधान महाधिवेशनको समीक्षा गरिएको छ ।

बैठकले त्याे महाधिवेशन अत्यन्त भव्य, अत्यन्त ऐतिहासिक  र सफल रहेको निष्कर्ष निकालेको छ । विचार र नीतिमा सर्वसम्मति कायम भएको छ महाधिवेशनबाट । यो महाधिवेशनले पार्टी पङ्क्तिमा भावनात्मक एकता र आत्मविश्वासको एउटा ठूलो सन्देश सम्प्रेषित गरेको छ र पार्टीमा एउटा नयाँ ऊर्जा यसले प्रदान गरेको छ । बैठकले महाधिवेशनलाई सफल पार्न ज–जसले सहयोग गरे, उनहरू सबैलाई धन्यवाद ज्ञापन गर्ने काम गरेको छ ।’

एमालेले बाढी, पहिरो, हिमपात र डुबानलगायतका प्राकृतिक विपत्तिमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ । त्यसैगरी प्राकृतिक विपत्तिमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसँग माग गरिएको प्रवक्ता ज्ञवालीले बताए ।

बैठकले विपत्तिमा परेकाहरूलाई राहत र उद्धारको कार्यमा जुट्न पार्टीका सिङ्गो पङ्क्तिलाई आह्वानसमेत गरेको छ । अर्काे बैठक शुक्रवार दिउँसो २ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे