दशैँ टीकाको चौथो दिन आज पनि आफ्ना मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी



दशैँ टीकाको चौथो दिन आज पनि आफ्ना मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी

काठमाण्डाै १ कार्तिक । दशैँको टीकाको चौथो दिन आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आशीर्वाद लिने क्रम कायमै छ । केही ठाउँमा विजयादशमीको दिनमा मात्रै टीका लगाउने चलन भए पनि धेरै ठाउँमा भोलि कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने गरिन्छ ।

विजयादशमीको दिन सबै मान्यजन र आफन्तकोमा पुग्न नभ्याइने भएकाले पूर्णिमासम्म नै टीका लगाउने गरिएको हो । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाहरूको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहि आएको छ ।

ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ । यस्तै दशैँ मान्न गाउँ गएकाहरु फर्कने क्रम पनि बढेको छ । महानवमीको दिनसम्म काठमाण्डौबाट बाहिर जाने गाडीमा यात्रुको चाप रहेकोमा अस्ति एकादशीदेखि भने काठमाण्डौ फर्कने गाडीमा यात्रुको चाप बढ्न थालेको छ । काठमाण्डौको कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दशैँ मनाएर काठमाण्डौ फर्कनेको भिडभाड देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे