राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्धारा बकर इदकाे शुभकामना व्यक्त



राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्धारा बकर इदकाे शुभकामना व्यक्त

काठमाडौँ ६ साउन। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवद्र्धनका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने उल्लेख गरेकी छन् ।

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएकाले विश्वव्यापी महामारी कोभिड-१९ को सङ्क्रमण अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउन आग्रहसमेत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गरिन् ।

यता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन् ।

कोभिड-१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोभिड-१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गरेका छन् ।

यता नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले पनि शुभकामना सन्देश जारी गरेका छन् । नेपाल जस्तो बहुधार्मिक र बहुसांस्कृतिक देशका लागि यस्ता पर्वहरू आफैंमा निधि भएको भन्दै नेता नेपालले यसले पारस्परिक सम्मान, मेलमिलाप, भ्रातृत्व र सामाजिक सदभावको विकास गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे