रोल्पामा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो



रोल्पामा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो

राेल्पा ९ जेठ । रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटिएको छ । त्रिवेणी गाउँपालिका-२ रामपुर गाउँ नजिकै बाँसघारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो ।

यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । हतियारका सामग्री रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहवनमा रहेकाे गुल्मको टोलीले सामग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

रोल्पामा पटक-पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ । गएको वर्ष असोजमा पनि नेपाली सेनाले ठूलो परिमाणमा हतियार बरामद गरेको थियो । हतियार भेटिए पनि राजनीतिक दबाबका कारण प्रहरीले ती कुरा गोप्य राख्दै आएको छ । रोल्पाका गाउँमा हतियार भेटिएको भए पनि प्रहरीले गोप्य राख्दा दुर्घटनासमेत हुँदै आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीको गुनासो छ ।

‘गएकाे वर्ष त्रिवेणी गाउँपालिका-७ मा बेवारिसे बम विष्फोट हुँदा गोठालो गएका ४ बालकको अकालमा ज्यान गयो’ अध्यक्ष ओलीले भने ‘प्रहरीले कुनै जानकारी नगराउँदा यी हतियार कहाँबाट आएका हुन् र के कारणले ल्याइएका हुन् भन्ने आशङ्का उत्पन्न भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे