प्रधानमन्त्रीद्वारा देशकै ठूलाे सम्मेलन केन्द्रकाे उद्घाटन



प्रधानमन्त्रीद्वारा देशकै ठूलाे सम्मेलन केन्द्रकाे उद्घाटन

ललितपुर १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो सम्मेलन हल ‘गोदावरी सिटी हल’ को उद्घाटन गरेका छन् ।  बालुवाटारबाट नै प्रधानमन्त्री ओलीले शुक्रवार गोदावरी सिटी हलको भर्चुअल उद्घाटन गरेकन हुन् ।

उनले सरकारले केही गरेन भनेर विपक्षीले आरोप लगाइ रहे पनि सरकारले विकास निर्माणका कामलाई निरन्तर अघि बढाइरहेको बताए । उनले कोभिड १९ को सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि काम गरिरहे पनि राष्ट्रिय महत्त्वका आयोजना र अन्य विकास निर्माणका काम पनि गरिराखेकाे र सिटी हलको उद्घाटनले त्यसलाई पुष्टि गरेको बताए ।

गोदावरी नगरपालिका ३ मा रहेकाे ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाइएको सिटी हलकाे भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ । तीन रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी दुई आनामा बगैँचा तथा हरियाली र १३ रोपनीमा पार्किङ र अन्य कार्यका लागि छुट्याइएको छ । ध्वनि अवशोषित, भूकम्प प्रतिरोधी याे सिटी हलमा कम्तीमा पनि तीन हजार जना सहभागी भएर बैठक गर्न सक्ने छन् । भवनभित्र दुई वटा भीभीआईपी कक्ष बनाइएको छ । उदाउँदो सूर्यको आकृतिमा बनाइएकाले यसलाई गोदावरी सनराइज नाम दिइएको छ ।

केसी समानान्तर जेभी काठमाण्डौले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख ८७ हजार दुई सय ९१ रुपैयाँ र भेरिएशनसहित ८१ करोड ६ लाख चार सय तीन रुपैयाँ रहेको छ । आयोजनाभित्र हुने आन्तरिक सडक निर्माण, बगैँचा तथा हरियालीको पूर्वाधार, कुर्सी, हलको साजसज्जालगायतका काम बाँकी नै छन् ।

सिटी हल अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ दशमलव ८ किलोमिटर र चक्रपथबाट ९ दशमलव ५ किलोमिटर दुरीमा रहेको छ । २०७६ कात्तिक २० गते निर्माण सम्झौता भएको याे भवन निर्माण सम्पन्नका लागि म्याद थपसहित २०७७ चैत मसान्तसम्मको समय दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे