LISTEN LIVE RADIO

नेपाल–खनाल पक्षका सांसदद्वारा राजीनामाको तयारी, ओलीविरुद्ध जुनसुकै कदम चाल्न बाध्य रहेको भनाइ



नेपाल–खनाल पक्षका सांसदद्वारा राजीनामाको तयारी, ओलीविरुद्ध जुनसुकै कदम चाल्न बाध्य रहेको भनाइ

काठमाण्डाै २६ बैशाख ।  नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकोले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका सांसदहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सोमबार संसदबाट विश्वासको मत लिने सम्भावना छ, त्यसअघि नै सकभर सबै, नभए ओलीलाई विश्वासको मत नपुग्ने र अरु दलको सरकार बनाउन सांसद संख्या पुग्नेगरी राजीनामा दिने एक नेताले बताएका छन् ।

‘ओली जी सच्चिने संकेत गर्नुभएन, उहाँले न पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थमा फर्काउनुभयो न त स्वेच्छाचारी कदम सच्याउने र आत्मालोचना गर्ने काम नै गर्नुभएको छ, यस्तो अवस्थामा हामी जस्तोसुकै कदम चाल्न बाध्य छौँ’ नेता भीम रावलले भने ।

सर्वोच्चको फैसला अनुसार ओलीले पार्टी चलाउने सम्भावना निकै कम रहेकाले आफूहरु योजनाबाट पछि हट्ने सम्भावना पनि नदेखिएको रावलको भनाइ छ । अध्यक्ष ओलीले माधव नेपालसहितका नेतालाई कारबाही गरिसक्नुभएको छ भने महाधिवेसनबाट निर्वाचित भएर आएका पदाधिकारी हटाइसक्नुभएको छ । माधव नेपाल समूहले पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन माग गर्दै आएको छ ।

ओलीले कारबाही फिर्ता र पार्टीलाई पहिलेकै अवस्थामा फर्काउन अस्वीकार गर्दै आउनुभएको छ । माधव नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ । अहिले प्रतिनिधिसभामा २ सय ६७ सांसद संख्या कायम छ । तीमध्ये नेपाल–खनाल समूहका २० जनाले मात्रै राजीनामा दिएमा पनि २ सय ४७ सदस्य कायम रहनेछ । त्यसपछि सरकार बन्न एक सय २४ जना सांसद भएपनि पुग्छ ।

नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरेर १ सय ९ सांसद छन् । जसपाका पनि धेरैजसो सांसदले कांग्रेस–माओवादीलाई साथ दिने भएकाले नयाँ सरकार बन्ने सम्भावना बलियो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे