आज रातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुँदै, ‘नेपाल भित्रिने र बाहिरिने ४० प्रतिशतले बढे’



आज रातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुँदै, ‘नेपाल भित्रिने र बाहिरिने ४० प्रतिशतले बढे’

काठमाण्डाै २३ बैशाख । पछिल्लो तीन दिनमा हवाई मार्ग हुँदै नेपाल भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । काेभिड–१९ सङ्क्रमणको दोस्राे लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले बिहीवार (आज) राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि नेपाल भित्रिने र बाहिरिने यात्रुको चाप बढेको हो ।

पछिल्ला दुई दिनमा यात्रुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ । नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर तेस्राे देश उडान गर्न नपाउने वैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि यात्रुको आवागमनमा कमी आए पनि १९ गतेको निर्णयसँगै आवागमनको दर वृद्धि भएको हो ।

सरकारले अन्तर्राष्टिय उडान र अवतरणमा रोक लगाए पनि नेपालमा रहेका विदेशी दूतावासहरूले पनि नेपाल घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिडविरुद्धकाे खाेप लगाएर ट्रेकिङ गर्न आएका पर्यटकले पनि कम्तीमा १० दिन होटल क्वरेण्टीनमा बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरूको चाप बढेको बताइएको छ । उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णयसँगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरूले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरू आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको बताउनुभयो । भारतसँग भने हप्तामा दुई वटा उडान गर्ने सरकारको निर्णय छ ।

उहाँले भन्नुभयो, ‘हामीले हरेक दिन विमानस्थलबाट कति व्यक्ति विदेश प्रस्थान गरे र कति स्वदेश आगमन भए भनेर तथ्याङ्क राख्ने गर्छाैँ । त्यो हिसाबले हरेक दिनको आगमन र प्रस्थानको अभिलेख हामीसँग छ । तर विद्यार्थी, कामदार र अरू व्यावसायिक व्यक्ति कति भन्ने खालको डाटा हामीले राख्ने गरेका छैनौँ । वैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि, नेपाललाई ट्रान्जिट प्वान्ट बनाएर अर्को देश जाने प्रयोजनका लागि नेपालमा हवाई यात्रा गर्न नपाइने भन्ने नेपाल सरकारको निर्णयपछि त्यस्ता व्यक्ति नेपालमा यात्रा गर्न कम गर्नुभयो । त्यसपछि समग्रमा यात्रुको आवागमन घटेको देखिन्छ । केही दिनसम्म यात्रुको आवागमन घटेको थियो । १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भइसकेपछि, यो बीचमा अत्यावश्यक कामले आफ्नो देश फर्कनुपर्ने विदेशी नागरिक र विदेशमा रहेका नेपाल फर्कन चाहने नेपाली नागरिक केही समय बन्द हुन्छ भनेपछि आफ्नो तालिका परिवर्तन गरेर आउने जाने क्रम बढेको कारणले पछिल्लो एक/दुई दिन चाहिँ यात्रुको आवागमन बढेको देखिन्छ । यात्रुको चाप बढेपछि विभिन्न एअरलाइन्सले केही अतिरिक्त उडान गरेको सुन्नमा आएको छ । यात्रुको चाप बढेपछि पनि अतिरिक्त उडान सम्भव भएको हो ।’

आज राति १२ बजेभन्दा अघि नै विदेशबाट प्रस्थान गरिसकेकाे र ट्रान्जिट भएर आउनुपर्ने विमानहरू भाेलि बिहानसम्म दुई वटासम्म आउने दिने गरी कुरा भएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयो, ‘आज राति १२ बजेभन्दा अघि नै विदेशबाट प्रस्थान गरिसकेका र ट्रान्जिट भएर आउनुपर्ने विमानहरू भाेलि बिहानसम्म दुई वटासम्म आउन दिने गरी कुरा भएको मैले बुझेको छु । त्यसले गर्दा भोलि बिहानसम्म यहाँहरूले प्लेन आएको देख्न सक्नुहुन्छ । १३ गतेको मन्त्रिपरिषद्को निर्णयपछि दैनिक २०/२५ प्रतिशतले यात्रुको आवागमनमा कमी आएको थियो । पछिल्लो पटक त्यसलाई कभर गर्ने गरी ३०/४० प्रतिशतले बढेको छ ।’

हवाई मार्गबाट वैशाख २२ गते मात्रै दुई हजार दुई सय ९० जना प्रस्थान भएका छन् भने तीन हजार आठ सय ८४ जना नेपाल भित्रिएका छन् । त्यसैगरी २१ गते एक हजार चार सय ४० जनाले नेपाल छोडेका छन् भने तीन हजार एक सय ८३ जना नेपाल आएका छन् । २० गते एक हजार दुई सय पाँच जना, १९ गते एक हजार तीन सय ६९ जना, १८ गते एक हजार ६ सय ९० जना र १७ गते दुई हजार पाँच सय नाै जना हवाई मार्ग हुँदै विदेश गएका छन् । अध्यागमनका अनुसार २० गते दुई हजार तीन सय २३ जना, १९ गते दुई हजार पाँच सय १० जना, १८ गते दुई हजार ३१ र १७ गते दुई हजार ६ सय २७ जना नेपाल भित्रिएका छन् ।
यात्रुको चाप बढेपछि मङ्गलबार मात्रै एअर अरेबियाले तीन वटा उडान थप गरेको थियो । त्यसैगरी अन्य एअरलाइन्सले पनि उडान थप गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे