LISTEN LIVE RADIO

६ बुंदे सहमतिमा यातायात बन्द फिर्ता



६ बुंदे सहमतिमा यातायात बन्द फिर्ता

दाङ १७ चैत्र । चक्काजाम लगायतका सशक्त विरोधका कार्यक्रम सार्वजनिक गरेर मंगलबार बिहानै देखि आन्दोलनमा उत्रिएका यातायात मजदुरहरुसँगको छलफलपछि सहमति भएसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरी दिउँसो १ बजेपछि यातायात सुचारु हुने भएको छ ।

यातायात मजदुर, यातायात व्यवसायी, प्रशासनको संयुक्त बैठकले मजदुरका समस्या समाधान गर्न एक विशेष समिति पनि गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मंगलबार बिहानै देखि बन्द रहेका सार्वजनिक सवारीका साधन सञ्चालन गराउन तथा मजदुरका समस्या समाधानमा चासो लिएपछि सहमतिको टुंगो लागेको हो ।

बैठकले यातायात मजदुरको तलबभत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात व्यवसायीहरु सहमत जनाएको, सबै यातायात व्यवसायीहरुको सामाजिक सुरक्षा कोष ऐन, २०७४ कार्यान्वयन गर्न मन्जुर भएको, नेपाल सरकार, नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड युनियन बीच भएको संयुक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरिएको छ ।

यस्तै, कोरोना भाईरस विरुद्धको भ्याक्सिन प्राथमिकतामा राखेर लगाउने सहमति पनि भएको छ । जसमा प्रमुख जिल्ला अधिकारी पौडेलले कोरोना विरुद्धको भ्याक्सिन आउना साथ प्राथमिकता साथ खोप लगाउने प्रवन्ध मिलाउने वचन दिएका छन् । यस्तै, यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि ४ वटा सम्वद्ध निकायको विशेष समिति गठन गरी १५ दिनभित्र राय सुझाव पेश गर्ने सहमति भएको छ ।

उक्त समितिको संयोजकमा यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुखलाई तोकिएको छ । उक्त समितिमा जिल्लामा रहेका ७ वटा यातायात प्रालिका प्रतिनिधि, ३ मजदुर संगठनका प्रतिनिधि र जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई समावेश गरिएको छ ।
उक्त समितिले अबको १५ दिन भित्रमा राय सुझाव सहितको समस्या समाधानको मार्ग प्रशस्त गर्ने गरी जिम्मेवारी प्रदान गरिएको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उक्त सहमति पत्रमा ३ वटै यातायात मजदुर संगठन, यातायात व्यवसायी प्रतिनिधि, प्रहरी प्रमुखलगायतले हस्ताक्षर गरेका छन् ।

नेपाल यातयात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातयात मजदुर संघ इकाई तुलसीपुर र अखिल नेपाल यातयात मजदुर सघं दाङले संयुक्त रुपमा चक्का जामको आह्वान गरेका थिए । यातायात मदजुरहरुले तलव भत्ता र सेवा सुविधा नपाएको भन्दै बिरोधमा अनिश्चितकालिन यातायात बन्द गर्दा बिहानैदेखि जिल्लामा यातायात बन्द हुँदा यात्रुलाई सास्ती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे