गढवा गाउँपालिकाबाट झोला पाउँदा बिद्यार्थीहरु खुसी



गढवा गाउँपालिकाबाट झोला पाउँदा बिद्यार्थीहरु खुसी

गढवा १३ चैत्र । गढवा ८ मुसीनाकाको उदय आधारभुत विद्यालय कक्षा ३ मा पढ्ने राधा घर्तीले गाउँपालिकाले झोला दिएकोमा खुसी भएको बताइन् । कापी किताब राख्ने झोला फाटेको थियो, गाउँपालिकाले झोला दियो एकदमै खुसी लागेको छ–उनले भनिन् ।

त्यसो त गढवा ८ को दुर्गम बस्ती खबरी नाकाको दुर्गा आधारभुत विद्यालयको कक्षा ४ मा अध्ययनरत छात्र नविन बुढाको मुहारमा पनि झोला पाउँदा खुसी छाएको पाइयो । बाबाले बल्लतल्ल एक बर्षमा एउटा झोला किनिदिनुहुन्थ्यो त्यो पनि फाटेर स्कूल जान लाज लाग्ने जस्तो भईसकेको थियो ।

गाउँपालिकाले नयाँ झोला दियो, खसी लागेको छ–उनले भने । त्यसो त शुक्रवार गढवा ८ मुसिनाकाको उदय आधारभुत, खबरी नाकाको दुर्गा आधारभुत र कोइलाबासको मदरासा तथा महेन्द्र आधारभूत बिद्यालयका सबै बिद्यार्थीहरुको मुहारमा नयाँ झोला पाउँदा खुसी छाएको पाइन्थ्यो । गढवा गाउँपालिका मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत शुक्रवार गढवा ८ कोइलाबास स्थित मुसिनाकाको उदय आधारभुत विद्यालयका २६ जना, कोइलाबास बजारको मदरासाका ५४ जना र महेन्द्र आधारभूत विद्यालयका ९७ जना तथा खबरी नाकाको दुर्गा आधारभुत विद्यालयका ३२ जना गरी ४ बिद्यालयका २०९ जना बिद्यार्थीहरुलाई एक एक थान झोला बितरण गरिएको हो ।

गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाई निशुल्क नयाँ झोला वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे