हुलाकी सडक निर्माण कार्यमा भएकाे ढिलासुस्ती अन्त्य गर्न माग



हुलाकी सडक निर्माण कार्यमा भएकाे ढिलासुस्ती अन्त्य गर्न माग

गढवा १३ चैत्र । कालाकाटे–राजपुर सडक निर्माण कार्यमा भइरहेको ढिलासुस्ती तत्काल अन्त्य गरि निर्माण कार्यलाई तिब्र गति दिन, बजार र बस्ती क्षेत्रमा नाली निर्माण गर्न र सडकमा दैनिक रुपमा पानी हाल्न भन्दै गढवाका स्थानीयहरुले गाउँपालिका मार्फत हुलाकी सडक र निर्माण कम्पनीलाई शुक्रवार ज्ञापन–पत्र बुझाएका छन् ।

गढवा–राजपुर सडक निर्माणको जिम्मा लिएको कृष्ण एण्ड खड्का कण्ट्रक्सन जेभीले गढवा बजार क्षेत्रमा गतिरोध हुने गरी कज्वे तथा कल्भर्ट बनाउने नाममा जोखिमपुर्ण खाडल बनाएर कछुवाको गतिमा काम गरिरहेकोमा स्थानीयले बिरोध जनाएका हुन् । त्यस्तै सो सडक खण्डको बालापुर चोंकदेखि मानपुर सम्म सडक छेउमा घर भएका नागरिकहरुले संयुक्त हस्ताक्षर गरि सडकमा दैनिक रुपमा २ पटक पानी हालेर धुलो नियन्त्रण गर्न र पक्की नाली निर्माण गर्ने कार्य तत्काल सुरु गर्न माग गरेका छन् । सो काममा निर्माण कम्पनिले ध्यान नदिएमा स्थानीयको आक्रोसबाट हुन सक्ने संभावित क्षतिप्रति आफुहरु जवाफदेही नहुने कुरा पनि ज्ञापन पत्रमा उल्लेख छ ।

स्थानीयहरुले कालाकाटे–गढवा सडक निर्माणको जिम्मा लिएको बज्रगुरु कण्ट्रक्सन कम्पनिलाई पनि छिठो छरितो काम गर्न, सडकमा कल्भर्ट बनाउने स्थानमा सहज ढंगका डाइभर्सन निर्माण गर्न र अवागमनमा सहज वातावरण बनाउन दैनिक २ पटक सडकमा धुलो नियन्त्रण गर्न पानी छर्किने काम गर्न माग गरेका छन् । दुवै निर्माण कम्पनिहरुले आवागमनमा नै असर पर्ने गरि निर्माणकार्य संचालन गरिरहेको स्थानीयहरुले बताएका छन् ।

साथै सो सडक निर्माण कार्यमा गतिरोध भएका स्थानहरुमा समन्वय र सहकार्य गरि सहज वातावरण बनाईदिन स्थानीयहरुले गाउँपालिकालाई अनुरोध समेत गरेका छन् । स्थानीय सरकारलाई बुझाइएको सो ध्यानाकर्षण पत्र सडक डिभिजन कार्यलय दाङ, हुलाकी सडक निर्माण कम्पनीहरु, इलाका प्रहरी कार्यालय, वडा नं. ६ र ७ को कार्यालय तथा गढवा उद्योग बाणिज्य संघलाई बोधार्थ पठाइएको संघर्ष समितिका अध्यक्ष चुडामणि पोडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे