मुक्त कम्लहरीद्धारा सरकारलाई ध्यानाकर्षण



मुक्त कम्लहरीद्धारा सरकारलाई ध्यानाकर्षण

गढवा ११ चैत्र । नेपाल सरकार र मुक्त कम्लहरी संयुक्त संघर्ष समिति बीच संझौता भएका १० बुंदे सहमति मध्ये ३ बुँदा बाहेक अरु कार्यान्वयनमा नआएको भन्दै मुक्त कम्लरीहरुले स्थानीय सरकार मार्फत केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार गढवा बजारमा प्रदर्शन गर्दै गाउँपालिकामा आएका मुक्त कम्लरीहरुले स्थानीय सरकारसंग बिभिन्न माग राख्दै ध्यानाकर्षण–पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १२ ग को उपदफा ३२ बमोजिम मुक्त कम्लरीहरुको पुर्नस्थापना गर्ने जिम्मेवारी स्थानीय सरकारलाई तोकेको भन्दै बिभिन्न मागहरु राखेका हुन् । जसमा अनुदान सहितको १८ देखि ३६ महिने सिपमुलक तालिमको ब्यवस्थापन, लोकसेवा आयोगको तयारी कक्षा ब्यवस्थापन, स्नातक तहसम्म छात्रबृत्ति रकमको बृद्धि, बेपत्ता कम्लरी र कुमारी आमाको खोजी तथा पुर्नस्थापना तथा रोजगारीको ब्यवस्थापन गर्न स्थानीय सरकारसंग माग गरिएको छ ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नेपाल सरकारसंग भएका संझौता बमोजिम मुक्र कम्लरीहरुका माग केही कार्यान्वयन भइसकेको र केहि कार्यान्वयन चरणमा रहेको बताए । गाउँपालिकाको बजेट अधिवेशन हुने समयमा आफुले गर्न चाहेका कामको बजेट सहितको खाका लिएर आएमा माग संबोधन गर्न सकिने प्रतिवद्धता अध्यक्ष यादवले जाहेर गरे । ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उपाध्यक्ष शान्ती चौधरी, मुक्त कम्लरी बिकास मञ्च दाङका कानूनी सल्लाहकार फकिर थारु, जिल्ला अध्यक्ष रमिता चौधरी, गढवाका अध्यक्ष सोना कुमाल, मुक्त कम्लरीहरु जुनु चौधरी र राजकुमारी चौधरी लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे