बैज्ञानिक वन व्यवस्थापन खारेज सँगै देउखुरीका सामुदायिक वनहरुमा हजारौं क्यूफिट काठ सड्दै



बैज्ञानिक वन व्यवस्थापन खारेज सँगै देउखुरीका सामुदायिक वनहरुमा हजारौं क्यूफिट काठ सड्दै

गढवा ५ चैत्र । नेपाल सरकारले यस अघि ल्याएको बैज्ञानिक वन व्यवस्थापन लागु भएर पनि पुन ः खारेजीमा परेपछि सामुदायिक वन समूहहरुमा कटान मुछान भई घाटगद्दी गरिएको काठ सडेर जान थालेको छ ।

देउखुरीका १ सय ४८ सामुदायिक वन समूहहरु मध्ये धेरै समूहको घाटगद्दीमा हजारौं क्यूफिट काठ कटान भई संकलन भएको २ बर्ष बित्न थालेको छ । वन कार्यालयबाट समूहहरुले आन्तरिक बिक्री वितरणको समेत आदेश नपाउँदा हजारौ क्यूफिट सालको काठ सडेर जान थालेको वन समूहका पदाधिकारीले बताएका छन् ।

सरकारले बैज्ञानिक वन व्यवस्थापन खारेज गरेपछि अख्तियारले देशका केही डिएफओलाई तानेको छ । देशभरका वन अधिकृतबाट यसको बिरोध भईरहेको छ । सामुदायिक वन समूहमा कटान गरि संकलन गरिएका सालकाठ बिक्री वितरणमा रोक लगाइएको छ । जसका कारण पनि देशभरका सामुदायिक वन समूहहरु काठ बेच्न नपाउने समस्यामा बल्झिएका हुन् ।

गढवाको सुर्य सामुदायिक वन मलमलामा बैज्ञानिक वन ब्यवस्थापन अन्तर्गत कटान गरि घाटगद्दी गरिएको थुप्रै काठ रहेको छ । त्यस्तै कार्ययोजनाको मापदण्ड बमोजिम कटान संकलन गरिएको कुलपानी सामुदायिक वनमा ५ सय बढी क्यूफिट काठ र मदपुर नसहवा सामुदायिक वनको घाटगद्दी स्थलमा १ हजार बढी काठ सडेर जान थालेको छ ।

त्यस्तै गढवा ८ को मुसीनाकाको कालिका सामुदायिक वनमा १ हजार ५ सय बढी काठ कटानी भई सड्ने अवस्थामा पुगेको छ । भने खबरी नाकाको दुर्गा सामुदायिक वनमा पनि त्यस्तै अवस्था छ । गढवा ४ को सालझण्डी र गढवा ५ को चिउरीघाट सामुदायिक वनमा पनि सयौं क्यूफिटको परिमाणमा कार्ययोजना बमोजिम कटान संकलन गरिएको साल काठ घाटगद्दीमा अलपत्र रहेको छ ।

सामुदायिक वनमा २ बर्ष अगाडी काटेर संकलन गरेको काठ सडेर जान थालिसक्यो तर हामी उपभोक्ताले अति आवश्यक हुँदा पनि पाउन सकेका छैनौं । वन कार्यालयको सिष्टम र प्रकृया सुन्दा वाक्क लागेर आउँछ–मदपुर नसहवा सामुदायिक वनका उपभोक्ता युवराज आचार्यले भने । यस्तो समस्या जिल्लाभरका सामुदायिक वनको छ । गढवा गाउँपालिका क्षेत्रभित्र मात्र ४६ वटा सामुदायिक वनहरु रहेका छन् अधिकांश सामुदायिक वनको समस्या यहि हो । वन हेरालुहरुले २ बर्षको तलब खान पाएका छैनन –वन महासंघ गढवाका अध्यक्ष नवराज शर्माले बताए । वन महासंघ सामुदायिक वनको समस्या प्रति पैरबि र बहस गरिरहेको छ ।

राजपुर गाउँपालिका क्षेत्रभित्र पनि झण्डै ४१ वटा सामुदायिक वन समूहहरु रहेका छन् । अधिकांशको समस्या यहि छ–वन महासंघ गंगदीका अध्यक्ष रामबरण यादवले भने । राजपुरको शिब सामुदायिक वनमा २ हजार क्यूफिटको हाराहारीमा काठ संकलन भई सडेर जाने अवस्थामा रहेको सामुदायिक नव समूहले बताएको छ । भने गणेश सामुदायिक वन गुरुङखोला, हरियाली सामुदायिक वन गंगदी नाका र खोला क्षेत्रका थुप्रै सामुदायिक वनको काठ सड्न थालेको उपभोक्ताहरुले बताएका छन् ।

देउखुरीको राप्ती गाउँपालिका र लमही नगरपालिका क्षेत्रभित्र रहेका ४८ सामुदायिक वनहरु मध्ये अधिकांश सामुदायिक वनहरुमा घाटगद्यी गरिएको काठ बिक्री गर्ने आदेश नपाएर सडेर जाने अवस्थामा पुग्न थालेको छ–वन महासंघ देउखुरीका संयोजक हरि भुसालले भने । बैज्ञानिक वन ब्यवस्थापन र यसको खारेजीले संकट निम्त्याएको हो, हामी सामुदायिक वनमा रहेको काठ खुलाउन पैरवि गरिरहेका छौं–सरकार पनि खुलाउने प्रकृयामा रहेको बुझिएको छ ।

वन महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदीले भने । यसरी हजारौको परिमाणमा जिल्लाका सामुदायिक वनहरुमा रहेको काठ बिक्री वितरणको आदेश नपाउँदा सडेर जाने र आगलागीबाट नष्ट हुन सक्ने संभावना छ । वन बिभाग यस बिषयमा गंभिर हुन जरुरी छ–उनले भने । यत्ति मात्र हैन देउखुरीका राष्ट्रिय वनमा सरकार आफैले कटान गरेको सदुपयोगको काठ र लमही कोइलाबास सडक बनाउदा काटिएको काठ पनि वन कार्यालयमा चाँङ लगाएर राखिएको छ ।

टेण्डर प्रकृयामा नजाँदा सो काठ पनि सडेर जाने संभावना रहेको छ । सरकारको वन बिभागको सदुपयोग निति नै ठिक छैन । यस्ता निती रहदा सम्म काठ सडाएरै फालिने हुन्छ स्थानीय बुद्धिजिवी भोजराज खनालले भने । वन कार्यालय र स्थानीय सरकार बिच समन्वय जरुरी छ । बिकास निर्माणका काममा वन कार्यालयको निती बाधक बनेको छ । कालाकाटे गढवा सडक खण्डमा पर्ने रुखहरु हटाउन वनले सहज वतावरण बनाई बिकासको सहज वातावरण बनाउनु पर्छ–गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने । बिकासका लागि वनले अबरोध गर्नु राम्रो नभएको लमही नगरपालिकाका उपमेयरले देवका बेल्बासेको भनाई छ ।

प्रदेश सरकार अन्तर्गत वन रहेको र स्थानीय सरकारसंग समन्वय तथा सहकार्य गरेर काम गर्ने छौं । नियम प्रकृया पुगाएपछि बिकास हामीले रोक्न मिल्दैन तर सरकारको कानून उल्लंघन गरेर काम गर्न पनि मिलदैन– डिभिजन वन प्रमुख बेसिन्द्र राज सुवेदीले बताए । सामुदायिक वन समूहहरुले साधारणसभा र अडिट समयमै गर्नुप¥यो । वन नविकरण र इनभेण्ट्रिी तथा कार्ययोजना बनाउने काममा हामीले जनशक्ति परिचालन गरका छौं । घाटगद्दी स्थलमा रहेको काठको बिक्री वितरणको निकास अब केहि समयमै निस्कन्छ–उनले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे