राप्ती उवासंघ भालुवाङको नयाँ नेतृत्वका लागि संयुक्त र स्वतन्त्र प्यानल चुनावी मैदानमा



राप्ती उवासंघ भालुवाङको नयाँ नेतृत्वका लागि संयुक्त र स्वतन्त्र प्यानल चुनावी मैदानमा

भालुवाङ ४ चैत्र । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको नयाँ नेतृत्व चयनका लागि २ वटा प्यानल चुनावी मैदानमा जाने निश्चित देखिएको छ । शनिवार भएको छैठौं साधारणसभा तथा अधिवेशनको बन्द सत्रले नयाँ कार्य समिति चयन गर्न नसकेपछि निर्वाचन हुने पक्कापक्की देखिएको छ ।

निर्वाचनमा जानको लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राजमोको समर्थनमा संयुक्त प्यानल बनाई अध्यक्ष पदका लागि सुरज खडकालाई अगाडी सारेको छ । उसले वरिष्ठ उपाध्यक्षमा बाबुराम थापा, उपाध्यक्षमा प्रेम केसी, महासचिवमा नारायणप्रसाद शर्मा, सचिवमा भरतमणी न्यौपाने, कोषाध्यक्षमा श्रीधर खत्री र सदस्यहरुमा कृष्णराज पौडेल, घमानसिंह रावत, हनुमान चौधरी, रोशन चौधरी र विक्रम पाण्डेलाई अगाडी सारेको छ ।

भने जसपाको तर्फबाट टोपबहादुर कार्कीको नेतृत्वमा स्वतन्त्र व्यवसायिक प्यानल चुनावी मैदानमा जाने जसपाका दाङ जिल्ला अध्यक्ष तथा संघीय परिषद् सदस्य होमप्रसाद शर्माद्वारा जानकारी दिएका छन् । जसपाले आफ्नो अडान नछोडेपछि सहमति हुन नसकेको राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले जानकारी दिएका छन् ।

यता स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ऋषिराम आचार्यले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । राजनीतिक सहमतीका आधारमा आफुले उम्मेदवारी फिर्ता लिएको आचार्यले बताएका छन् । उता निर्वाचन मण्डलले आज सम्मका लागि सहमतीमा आउन भन्दै समय दिएको थियो । सहमतीमा नआएपछि निर्वाचन मण्डलले अव चुनावको तालिका प्रकाशनको तयारीमा जुटेको निर्वाचन मण्डलका संयोजक टोपबहादुर झार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे