पर्यटन प्रवर्द्धनको विकासका लागि लुम्बिनी प्रदेशमा २५ पर्यटकस्थल छनोट



पर्यटन प्रवर्द्धनको विकासका लागि लुम्बिनी प्रदेशमा २५ पर्यटकस्थल छनोट

भालुवाङ ६ फागुन । पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका दुई सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा दाङको एकसहित लुम्बिनी प्रदेशमा २५ ओटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट गरि २५ ओटा स्थानलाई पर्यटकीय गन्तव्यहरूको सूचीमा समावेश गरिएको छ ।

ती स्थानको प्रवद्र्धनकोलागि मन्त्रालयले बजेट विनियोजन गरेको छ । मन्त्रालयको छनोटमा परेका गन्तव्य योजनाहरूमा दाङको बबई गाउँपालिकामा रहेको पुरन्धारा झरणामा पार्क निर्माण हुने भएको छ । जसकालागि अनुमानित लागत रु ५ करोडमा मन्त्रालयले रु ३ करोड ५० लाख छुट्याइएको छ ।

यस्तै लुम्बिनी प्रदेशको पर्यटकीय गन्तब्यको राम्रो सम्भावना रहेको बर्दियामा ४ ओटा स्थानलाई सूचीमा समावेश गरिएको छ । जस अनुसार बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयातालको पूर्वाधार विकास, गेरुवा गाउँपालिकाको शहीद स्मृतिपार्क, ठाकुरबाबाको बलाती जैविक मार्ग पार्क र राजापुरको कोठीयाघाट वनभोज स्थल रहेका छन् ।

बढैयातालको पूर्वाधार विकास निमार्णका लागि रु ५ करोड अनुमान गरिएकोमा मन्त्रालयबाट रु तीन करोड ५० लाख छुट्याइएको छ । शहीद स्मृतिपार्क निमार्णका लागि रु ५ करोड लाग्ने अनुमान गरिएको मन्त्रालयले रु तीन करोड ५० लाख छुट्याएको छ ।

यस्तै ठाकुरबाबाको बलाती जैविक पार्क निमार्णका लागि अनुमानित लागत रु सात करोड रहेकोमा मन्त्रालयले रु चार करोड ५५ लाख, राजापुरको कोठीयाघाट वनभोज स्थल निर्माणका लागि अनुमानित लागत रु छ करोड ८९ लाख रहेकोमा मन्त्रालयले रु चार करोड ४८ लाख छुट्याएको छ ।

यस्तै बाँकेमा ३ ओटा स्थानलाई सूचीमा समावेश गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा मुस्लिम धर्मको कर्बला, हिन्दु धर्मको मिर्चुवा पुजन स्थल र क्रिकेट स्टेडियम जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणकालागि माटो पटान र पर्खाल लगाउनकालागि अनुमाति लागत रु ९ करोड ९९ लाखमा मन्त्रालयले रु ६ करोड छुट्याएको छ ।

यस्तै डुडुवा गाउँपालिकाको राप्ती नदीमा शिवको प्रतिमा र उद्धन निर्माण गर्न रु ५ करोड अनुमानित लागतमा रु ३ करोड ५० लाख मन्त्रालयले छुट्याएको छ। त्यस्तै कोहोलपुर नगरपालिकाको ताल संरक्षण योजनाकोलागि रु ६ करोड २ लाख अनुमानित बजेटमा मन्त्रालयले रु ३ करोड ८६ लाख छुट्याएको छ।

यसैगरी रोल्पाको दुईखोली गाउँपालिकाको गोरीचौरदेखि छड्केधुरी फूलवारी हँदै थवाङ जोड्ने युद्ध तथा धार्मीक पर्यटनकालागि माउन्टेन वाईक ट्रेकिङ पद मार्गलाई रु १ करोड लागत अनुमानमा रु ७० लाख मन्त्रालयले छुट्याएको छ।

यस्तै प्युठानको मल्लरानी गाउँपालिकाको पर्यटकीय विकासकालागि रु ५ करोड अनुमानित लागतमा रु ३ करोड ५० लाख छुट्याइएको छ । प्युठानकै स्वर्गद्धारी नगरपालिकाको वडा नम्बर ८ मा शान्तिपार्क निर्माण गर्न रु ६ करोड ७६ लाख अनुमानित लागतमा मन्त्रालयले ४ करोड ४० लाख छुट्याएको छ। प्युठानकै मान्डवी गाउँपालिकाको ठूली लेकमा पर्यटक प्रवद्र्धन गर्न रु ३ करोड ४ लाख अनुमानित बजेटमा रु २ करोड १३ लाख मन्त्रालयले छुट्याएको छ ।

यस्तै गुल्मीको रेसुङ्गा नगरपालिकाको गर्जुरा रेसुङ्गा पर्यटन पार्क निर्माणकालागि रु ७ करोड अनुमानित लागतमा रु ४ करोड ५५ लाख मन्त्रालयले छुट्याएको छ। यस्तै गुल्मीकै धुर्कोट गाउँपालिकामा ऐतिहासिक धुर्केट दरबार क्षेत्र पूर्वाधार विकास तथा बुढीकोट पर्यटकीय क्षेत्र पैदल निर्माण आयोजनाकालागि रु ४ करोड ९९ लाख अनुमानित लागतमा ३ करोड ५० लाख मन्त्रालयले छुट्याएको छ। गुम्मीकै मुसिकोट नगरपालिका थुम पिकनिक स्थल निर्माण गर्न रु ५ करोड अनुमानित लागतमा ३ करोड २५ लाख मन्त्रालयले छुट्याएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा अर्घा भगवती मन्दिर र अर्घा दरवारका लागि ४ करोड ९८ लाख अनुमानित लागतमा ३ करोड २४ लाख मन्त्रालयले छुट्याएको छ। यस्तै रुपन्देहीको बुटवल महानगरपालिका १ मा बटौली युद्ध संग्रहालय निर्माण गर्न रु ९ करोड ९४ लाख अनुमानित लागतमा मन्त्रालयले रु ४ लाख ९७ हजार छुट्याएको छ।

रुपन्देहीकै सैनामैना नगरपालिकामा बोलबम क्षेत्र विकास परियोजनाका लागि रु ६ करोड ९९ लाख अनुमानित लागतमा मन्त्रालयले रु ४ करोड ५५ लाख छुट्याएको छ। त्यस्तै रुपन्देहीको तिलात्तमा नगरपालिकामा शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रमा पार्क निर्माण गर्न रु ७ करोड अनुमानित बजेटमा रु ४ करोड ५५ लाख मन्त्रालयले छुट्याएको छ । रुपेन्देहीकै लुम्बिनी सांस्कृत नगरपालिकामा लक्ष्मीनारायण हनुमान मन्दिर निर्माणकालागि रु ५ करोड ४८ लाख अनुमानित लागतमा मन्त्रालयले ३ करोड ५६ लाख छुट्याएको छ।

त्यसैगरी कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नईमिया मस्जिददेखि राधाकृष्ण मन्दिर र लल्मीनारायण मन्दिर हुँदै शिव मन्दिरसम्म सडक निर्माणमा रु ४ करोड ७० लाख अनुमानित लागतमा २ करोड ६५ लाख छुट्याइएको छ। कपिलवस्तुकै बुद्धभूमी नगरपालिकामा बुड्ढी ताल संरक्षण तथा थारु संग्रहालय निर्माणकालागि अनुमाति रु ४ करोड ५० लाखमा मन्त्रालयले २ करोड ९२ लाख ५० हजार छुट्याएको छ।

र पश्चिम नगवलपरासीको बर्दघाट नगरपालिकामा कन्चनगढी पर्यटकीय क्षेत्रको विभिन्न संरचणा निर्माण गर्न रु ४ करोड ५६ लाख अनुमानित लागतमा मन्त्रलयले २ करोड ९७ लाख बजेट छुट्याएको छ। पाल्पाको रम्भा गाउँपालिकामा आदिवासी जनजाती साँस्कृतिक संग्रहालय निर्माणकालागि रु १ करोड अनुमानित लागतमा ५ लाख ९७ लाख छुट्याइएको छ ।

लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये रुकुम पूर्वमा मात्र पर्यटन प्रवर्द्धनको विकास गर्नकालागि यस वर्ष कुनै ठाउँ छनोटमा परेको छैन ।सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकास साझेदारी कार्यक्रम सञ्चालन गरेर पर्यटन क्षेत्रको विकासकालागि काम गर्ने भएको छ । सम्बन्धित पालिकासँगको साझेदारीमा यो कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ। जसकालागि प्रकृया अघि बढिसकेको छ ।

पर्यटकीय स्थल दाङको पुरन्धारा झरणा

दाङको पुरन्धारा झरणा पश्चिम दाङको पर्यटकीय क्षेत्र मध्ये एक हो । यो बबई गाउँपालिका वडा नम्बर ५ मा पर्छ । तुलसीपुर बजारदेखि करीब ३० किलोमीटर पश्चिम हापुरे बजार र हापुरेदेखि करिब ६ किलोमिटर पश्चिम दक्षिणमा यो छहरा पर्छ । करिब दुई सय ५० मिटर अग्लो ‘पुरन्धारा झरना मा पछिल्लो सयम आन्तरिक पर्यटक पुग्ने क्रमम बढेको छ । वरपर जंगलसँगै नजिकै बबई नदीले पनि झरणालाई थप आकर्षक बनाएको छ ।

झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । खोल्सीको पानी करिव ५० मिटर माथिबाट भुइँमा पछारिँदा सेतो दूध ज़स्तो देखिन्छ, भने टाढाबाट हेर्दा झरना झन आकर्षक र मनोरम लाग्छ । नजिक पुग्नेहरू झरनाको छङछङ पानीमा घन्टौँसम्म रूझ्न र झुम्न रुचाउँछन् । झरणामा पुग्न अहिले सडक निर्माण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे