LISTEN LIVE RADIO

लुम्बिनी प्रदेश स्थापना दिवस कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा



लुम्बिनी प्रदेश स्थापना दिवस कार्यक्रमकाे सम्पूर्ण  तयारी पूरा

भालुवाङ २ फागुन । प्रदेश सरकारले स्थापना दिवसको अवसरमा तीन दिन औपचारीक कार्यक्रमको आयोजना गरेको छ । सोमबार प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विशेष समारोहको आयोजना गरिएको हो ।

प्रदेश स्थापना दिवस मुल समारोह कार्यक्रमको तयारी पुरा भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्तले जानकारी दिए ।कार्यक्रम स्थलमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको तयारीबारे जानकारी गराइएको थियो । राप्ती प्राविधिक शिक्षालयको प्राङ्गणमा कार्यक्रम हुने भएको छ ।

यस स्थापना दिवसलाई भव्य बनाउन विभिन्न सांस्कृतीक झाँकी र नाँचहरु प्रस्तुत गरिने छ । प्रदेश प्रमुखको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने र सो कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले विभुषित गरिने छ । गत असोज ३ गते प्रदेश सरकारले ११ प्रकारको पदक मार्फत ५८ जनालाई विभुषित गर्ने निर्णय गरेको थियो ।

 

कार्यक्रममा प्रदेश सरकार स्थापना भएको तीन वर्षको उपलब्धी समेटिएको पुस्तक सार्वजनिक गरिने प्रमुख सचिव भरतमणी सुवेदीले जानकारी दिए । ‘स्थापना दिवसमा प्रदेश सरकार गठन भएको तीन वर्षको उपलब्धी सार्वजनिक गरिने छ, उनले भने – ‘यो संगै मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको समिक्षागत पुस्तिका पनि सार्वजनिक हुने छ ।’ राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्रदेश स्थापना दिवसको मुल समारोह कार्यक्रमले राजधानी क्षेत्रमा उत्साह थपिएको बताए ।

‘लुम्बिनी प्रदेशको स्थायी राजधानीमा प्रदेश स्थापना दिवसको मुल समारोह आयोजना गरेर राजधानी व्यवस्थापनलाई प्राथमिकता राखेकोमा प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु, उनले भने– ‘प्रदेश राजधानी कार्यान्वयन र व्यवस्थापनको लागी स्थानीय सरकारको तर्फबाट साझेदारी गर्न चाहन्छौं ।’

असोज २० गते प्रदेश सभाको बैठकको दुई तिहाई बहुमतले स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार राजधानी व्यवस्थापनको काम राप्ती उपत्यकामा सुरुमा भएको हो ।

राजधानी व्यवस्थापन र प्रदेश सभाको बैठक सञ्चालनको लागी राप्ती प्राविधिक शिक्षालयको जग्गा र संरचना प्रदेश सरकार माहतमा ल्याउने पक्रिया अन्तिम चरणमा छ । शिक्षालयलाई गढवा गाउँपालिका–३ सरस्वती माध्यमिक विद्यालयमा स्थनान्तरण गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे