नेपालकै दोस्रो लामो राप्ती नदीको पक्की पुल : प्रचण्डद्वारा शिलान्यास, ओलीले माघ १२ गते उद्घाटन गर्ने



नेपालकै दोस्रो लामो राप्ती नदीको पक्की पुल : प्रचण्डद्वारा शिलान्यास, ओलीले माघ १२ गते उद्घाटन गर्ने

श्रवण बस्नेत, देउखुरी ५ माघ

लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएपछि राप्ती गाउँपालिकाको कार्यालयमा छलफल गरिएको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छलफलमा लुम्बिनी प्रदेशसभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए ।
झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तयारी भै रहेको छ । बैठकमा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रधानमन्त्री आउने कार्यक्रममा ५० हजार भन्दा बढीको सहभागीता रहने र त्यसको तयारीमा जुट्न निर्देशन दिए । ‘प्रधानमन्त्रीले चालेको कदमलाई जनताको साथ छ । केपी ओलीलाई सुन्ने चाहना सबैको छ’उनले भने–‘कार्यक्रमलाई व्यवस्थीत गर्न जनपरिचालन जरुरी छ ।’
पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा भएको हो ।
पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपथ्र्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ । यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । यती मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्ब्यको रुपमा विकास भएको छ ।
दाङ जिल्ला भित्रबाट मात्रै नभएर बाहिरी जिल्लाबाट पर्यटकहरु यहाँ आउने गरेका छन् । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्ती पारिको क्षेत्रबाट वारी आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।
गेरुवा पुल बनाएकै कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे