तीज पर्वकाे मौलिकता जोगाउनुपर्छ: पूर्व सञ्चार मन्त्री शर्मा



तीज पर्वकाे मौलिकता जोगाउनुपर्छ: पूर्व सञ्चार मन्त्री शर्मा

देउखुरी १३ भदौ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तीज पर्वको मौलिक संस्कृति जोगाउनुपर्नेमा जोड दिएकी छिन्।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँपालिका कमिटीले बिहीबार वडा नं. २ को बराखुटीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले परम्परागत तीजलाई मौलिक संस्कारमा मनाउनुपर्ने बताइन्। त्यस्तै उनले तीज पर्व महिला दिदीबहिनीहरूको सुख, शान्ति र मनोरञ्जनको अवसर भए पनि पछिल्लो समय विकृति बढ्दै गएको उल्लेख गर्दै चिन्ता व्यक्त गरिन्। “हाम्रो मौलिक पर्व र संस्कृतिमा देखिएका विकृतिहरूलाई रोक्न र परम्परागत मान्यतालाई बचाउनुपर्छ,” उनले भनिन्। चाडपर्वमा हुने खाने र नहुनेबीचको विभेदले सामाजिक एकतालाई असर गरेको बताउँदै मौलिकता र संस्कृतिको संरक्षण आवश्यक रहेकाेमा जोड दिइन्। त्यस्तै पूर्वमन्त्री शर्माले वर्तमान सरकारले संविधान संशोधनको नाममा जनताको अधिकार खोस्ने प्रयासमा लागेको आरोप लगाइन्।

उनले संविधानले दिएको समानुपातिक समावेशिता र उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई कमजोर बनाउन सरकार लागि परेको बताइन्। “यो सरकार दलित, मुस्लिम, महिला, जनजाति लगायत उत्पीडित समुदायको अधिकार खोस्न चाहन्छ,” शर्माले भनिन्। “हामी यी अधिकारको रक्षा गर्न संगठित हुनुपर्छ।” लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजीत थारुले मौलिक पहिचान र संस्कृतिको संरक्षण सबैको दायित्व रहेको बताइन्। उनले तीजलाई देखासिकीभन्दा आपसी खुशीको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिइन्। कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, नेकपा माओवादी केन्द्रका जिल्ला सह-इन्चार्ज अन्जान चौधरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङकी इन्चार्ज पुनम शेरपाईली, पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष नारायण शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) राप्ती गाउँ कमिटीका अध्यक्ष दुरपती चौधरीकाे अध्यक्षता तथा जिल्ला सदस्य भगवता अधिकारीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन सचिव बालिका सुनारले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे