उपचारका लागि छटपटाइ रहेका बाेटेकाे राप्तीका अध्यक्ष विष्टले गरे निशुल्क उपचार



उपचारका लागि छटपटाइ रहेका बाेटेकाे राप्तीका अध्यक्ष विष्टले गरे निशुल्क उपचार

भालुवाङ १३ भदौ । दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुटीका बसन्त बोटेले आठ महिना अघि सम्म मजदुरी गरेर जसोतसो आफ्नो घरव्यवहार चलाइ रहेका थिए । तर गत माघ महिनादेखि उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिन थालेपछि घरव्यवहार मात्र होइन उपचार समेत गर्न कठिन भयो ।

श्रीमानको स्वास्थ्यमा समस्या देखिएपछि श्रीमती लक्ष्मी बोटेले आफन्तसँग ऋण सापट गरेर उपचारका लागि स्थानीय मेडिकल हुँदै भैरहवा अस्पताल सम्म पु¥याए । उपचारको क्रममा कलेजोमा समस्या देखिएपछि केही दिन अस्पतालमा भर्ना भएर एक महिनाको औषधी लिएर घर फर्किइन्। केही समय त स्वास्थ्यमा सुधार भयो, तर पछि पुनः उही समस्या बल्झियो । “ऋण सापट गरेको रकम पनि पहिलो पल्टको उपचारमै सकियो। पुनः उपचारका लागि अस्पताल लैजान पैसा भएन,“ लक्ष्मी बोटेले भनिन्,– “कमाउने उमेरमा घरको प्रमुख व्यक्ति नै थला परेपछि हातमुख जोड्न समस्या भइरहेको छ। उपचार त परको कुरा ।“

उनै आर्थिक अभावका कारण उपचार गर्न नसकेर छटपटाइ रहेका बसन्त बोटेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्धार गरि निःशुल्क उपचारको व्यवस्था गर्दै मानवता र सेवाभावको उत्कृष्ट उदाहरण प्रस्तुत गरे । आर्थिक अभावका कारण बोटेको उपचार हुन नसकेको थाहा पाए लगत्तै अध्यक्ष विष्टले आफ्नो सवारीसाधनमा तुरुन्तै बुटवलस्थित क्रिमसन अस्पतालमा पु¥याएर उपचार थालेका हुन् । बिरामीको अहिले अस्पतालमा भर्ना गरेर उपचार गरिदैछ । उनकी श्रीमती लक्ष्मी बोटेले भनिन् , “अध्यक्ष विष्टको यो सहायता हाम्रो परिवारको लागि संजीवनी साबित भएको छ । उनको सेवाभाव र मानवता प्रति समर्पणले हामीलाई ठूलो राहत दिएको छ ।” अध्यक्ष विष्टको यो कदमले विपन्न समुदायका व्यक्तिहरूको स्वास्थ्य र सुरक्षामा उनको प्रतिबद्धता र तत्परता देखाउँछ । गाउँपालिकाको स्वास्थ्य सेवामा सुधार गर्न उहाँले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

अध्यक्ष विष्टले विगतमा पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेका कयौं विपन्न नागरिकलाई यसैगरी सहयोग गर्दै आएका छन् । विष्टको यो कदमको स्थानीयहरूले प्रशंसा गर्दै यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । विष्टको नेतृत्वमा राप्ती गाउँपालिका स्वास्थ्य र शिक्षा क्षेत्रमा एक उदाहरणीय पालिका बन्ने लक्ष्यका साथ अघि बढी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे