थारु समुदायको संस्कार संस्कृति संरक्षणका लागि स्थानीय सरकार सँग छलफल



थारु समुदायको संस्कार संस्कृति संरक्षणका लागि स्थानीय सरकार सँग छलफल

तुलबहादुर कवर मगर
भालुवाङ ७ भदौ । परम्परागत थारु संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न छ । स्थानीय थारु अगुवा र जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा थारु संस्कृतिको महत्व र यसको संरक्षणका चुनौतीहरूबारे छलफल भएको थियो । कार्यक्रममा सहभागी थारु अगुवाहरुले धर्म परिवर्तन तथा आयतित संस्कृति भित्रिदा थारुका संस्कार संस्कृति हराउँदै जान थालेको प्रति चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसीले थारु संस्कृतिको संरक्षणमा प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले थारु संस्कृतिले नेपाली समाजलाई विविधता र मौलिकता प्रदान गरेको उल्लेख गर्दै यसको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको बताए । अध्यक्ष विष्टले भने, “थारु समुदायको परम्परा र संस्कृतिले हाम्रो समाजलाई एक विशेष पहिचान दिएको छ । यसलाई बचाउन र नयाँ पुस्तामा हस्तान्तरण गर्न हामीले ठोस योजना बनाउनु आवश्यक रहेको बताए ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले थारु संस्कृतिको जगेर्ना र प्रवर्द्धनका लागि गाउँपालिका कटिबद्ध रहेको बताइन् । उनले भनिन्,– “हामीले आफ्ना परम्परागत कला, नृत्य, गीत र सांस्कृतिक सम्पदालाई संरक्षण गर्न गाउँपालिका स्तरबाट आवश्यक पहल गर्दै आएका छौं । स्थानीय समुदायको सक्रिय सहभागिता र सहकार्य बाट मात्रै हामीले हाम्रो थारु संस्कृति बचाउन सक्छौं । यसका लागि आगामी दिनमा पनि यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने बताइन्े ।
कार्यक्रममा सहभागीहरूले थारु संस्कृतिको संरक्षणमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको भन्दै गाउँपालिकालाई थप सहयोग गर्न आग्रह गरेका थिए । राप्ती गाउँपालिकाले आगामी दिनमा थारु संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । यस प्रकारका अन्तरक्रिया कार्यक्रमले थारु समुदायमा संस्कृति प्रतिको सचेतना अभिवृद्धि गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे