लमही–कोइलाबास सडक क्षेत्रकाे दायाँबायाँ १५/१५ मिटर फराकिलाे बनाउन सुरु



लमही–कोइलाबास सडक क्षेत्रकाे दायाँबायाँ १५/१५ मिटर फराकिलाे बनाउन सुरु

लमही ५ भदाै । दाङकाे लमही–कोइलाबास सडक क्षेत्र फराकिलाे बनाउन सुरु गरिएकाे छ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले साे सडक क्षेत्रमा पर्ने आफ्नो घरमा डोजर लगाएर सडक फराकिलाे बनाउन सुरु गरेका छन् ।

हुलाकी सडक विस्तार हुदा सडकको दायाँबायाँ १५\१५ मिटर क्षेत्र सडक क्षेत्रमा पर्नेगरी मुआब्जा वितरण गरिएको थियो । नगर प्रमुख चौधरीले सडक क्षेत्रमा पर्ने आफ्नो घर भत्काएर अभियान थालेका हुन् ।  डोजर लिएर प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारी सहित प्रहरी, जनप्रतिनिधि र स्थानीहरू पुगेका थिए । बुधबारबाट लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो ।

सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो । साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो । हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झण्डै आठ वर्ष पछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो । लमही बजार क्षेत्रमा सडक क्षेत्र साँघुरो छ । जसले गर्दा बजार राम्रो सँग विस्तार हुन सकेको थिएन ।सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले राष्ट्रिय राजमार्गको रुपमा लमही–कोइलावास सडकको नामकरण शहीद मार्गको रुपमा भएको भन्दै यसको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्ने काम सडक डिभिजन कार्यालयको भएको बताए ।‘सडक क्षेत्र खाली गराउने अभियान चल्यो’ उनले भने, ‘नगरवासी सबैको साथ सहयोगको खाँचो छ ।’

सडक डिभिजन कार्यालयले संरचना हटेपछि सडक पूर्वाधार निर्माणको लागी काम गर्ने जनाएको छ । लमही–कोइलावास हुलाकी सडक औपचारिकरूपमा नेपाल सरकारलाई वि.सं. २०७७ साल चैत १८ गते हस्तान्तरण गरिएको थियो । ७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३.४६ किलोमिटर सडक निर्माण गरिएको हो । यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ कराेड बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ । तर लमही नगरपालिका–४ सेम्रहवाका नागरिकहरुले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे