लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्य सहित ९ मन्त्रीले बुधबार शपथ लिदै (संक्षिप्त परिचय सहित )



लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्य सहित ९ मन्त्रीले बुधबार शपथ लिदै (संक्षिप्त परिचय सहित )

भालुवाङ ७ साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले यही साउन ९ गते बुधबार सपथ लिने तयारी गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आज सोमबार एमाले संसदीय दलका उपनेता आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका छन् ।

लुम्बिनी प्रदेशको छैठौं मुख्यमन्त्री बनेका आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सहित ५६ सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । अर्घाखाँची निर्वाचन क्षेत्र नं. १ ‘क’ बाट प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित नवनियुक्त मुख्यमन्त्री आचार्यले साउन ९ बुधबार पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यतालिका छ ।

मुख्यमन्त्री सहित एमाले र काँग्रेसका मन्त्रीहरुले पनि सपथ ग्रहण गर्ने गरी मुख्यमन्त्री आचार्यले सपथ लिने भएका हुन् । एमालेबाट मुख्यमन्त्री सहित चार र कांग्रेसबाट पाँच जना गरी ९ जना मन्त्रीले बुधबार सपथ ग्रहण गर्ने छन् । बाँकी तीन जना मन्त्रीपछि अन्य दलहरुबाट समेत नियुक्त गर्ने कांग्रेस-एमालेको तयारी छ ।

मुख्यमन्त्रीको सपथ ग्रहण बुधबार हुने भएपनि कांग्रेस, एमालेका नेताहरुले अन्य मन्त्रीहरुको नाम टुंगो लगाउन सकेका छैनन् । कांग्रेसबाट मन्त्री बन्ने सांसदहरुको दौडधुप बढेको छ ।

कांग्रेसबाट राजु खनाल, जन्मजय तिमिल्सिना, रोज राणा, निमा गिरी, बिरबहादुर राना, धनलक्ष्मी श्रेष्ठ लगायत सांसदहरुको नाम चर्चामा छ । राजु खनाल, रोज राणा र बीरबहादुर राना यसअघि मन्त्री भएका नेता हुन् ।

नेकपा एमालेबाट भोज प्रसाद श्रेष्ठ अर्जुन केसी बिष्णु पन्थी लगायतका नेताहरु मन्त्री बन्ने चर्चा छ । मंगलबार दिनभरिमा मन्त्रीहरुको टुंगो लाग्ने नेताहरुले बताएका छन् ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिलागिरी मुख्यमन्त्री बन्ने समयमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएकोले अहिले उपनेता मुख्यमन्त्री बनेको एमाले नेताहरुको भनाइ छ ।

यस्तो छ, नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको छोटो जिवनी…

बुबा टिकाराम आचार्य र आमा तारादेवी आचार्यको माइलो सन्तानको रुपमा वि.सं. २०२५ साल जेठ २१ गते अर्घाखाँचीको सन्धीखर्क-९, अँधेरीमा जन्मिएका आचार्यले कानून विषयमा स्नातक गरेका छन् । २०३५ सालमा सिद्धार्थ माध्यममिक विद्यालय हंसपुर अध्ययन गर्दै गर्दा विद्यार्थी राजनीतिमा होमिएका आचार्य अनेरास्ववियूको प्रारम्भिक कमिटीको अध्यक्षबाट राजनीति शुरु गरेका थिए ।

विद्यार्थी राजनीतिसँगै जिल्ला सदस्य हँुदै बुटवल बहुमुखी क्याम्पसमा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । २०४६ सालमा ईलाका कमिटी सदस्य, २०४७ सालमा पार्टी जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य भएका आचार्य २०५४ सालमा पार्टी जिल्ला सचिव (जिल्ला पार्टी प्रमुख) भएर ११ वर्ष काम गरेपछि २०६५ सालमा अञ्चल कमिटी सदस्य हुँदै पुनः २०६९ सालमा पार्टीको अर्घाखाँची जिल्ला अध्यक्ष भएर ९ वर्ष काम गरेका थिए ।

२०७८ सालमा पार्टीको केन्द्रीय सदस्य भएका आचार्य अहिले दाङ जिल्ला इन्चार्जको जिम्मेवारीमा छन् । यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री, त्यसपछि एमाले नेता लिला गिरी नेतृत्वमा बनेको सरकारमा उनी ग्रामीण खानेपानी तथा सहरी विकास बनेका थिए ।

माओवादी नेता जोख बहादुर महराको नेतृत्वमा बनेको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए । क्यान्सर, मृर्गौला लगायतका घातक रोगलाई परास्त गर्न सफल भएका नेताको रुपमा आचार्य परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे