लुम्बिनीको मुख्यमन्त्रीमा एमाले नेता गिरीले दाबी पेस गर्दै, आजै प्रदेश प्रमुखले नियुक्त गर्ने



लुम्बिनीको मुख्यमन्त्रीमा एमाले नेता गिरीले दाबी पेस गर्दै, आजै प्रदेश प्रमुखले नियुक्त गर्ने

भालुवाङ ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता लिला गिरीले आज दाबी पेस गर्न लागेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि काँग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता गिरीले मुख्यमन्त्रीको दाबी पेस गर्न लागेका हुन् ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनीमा अल्पमत परेका मुख्यमन्त्री महराले आइतबार संसदलाई सम्बोधन गरेर राजिनामा दिएपछि प्रमुख प्रमुख शेरचन नयाँ सरकार गठनका लागि अह्वान गरेका छन् । अब लुम्बिनीमा एमाले-कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ ।

आज सोमबार साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले आज सोमबार नै एमालेबाट नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । एमाले-कांग्रेसले सोमबार दिउँसो १ बजे नै दाबी पेश गर्न बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जाने योजना बनाइसकेका छन् । यही योजनाअनुसार सांसदहरूलाई समेत तयारी रहन खबर गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि पहिलो चरणमै सरकारलाई पूणर्ता दिएर अगाडि बढ्ने सहमति गरिएको बताए । मुख्यमन्त्रीसहित सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ एक चरणमा गर्ने गरी तयारी थालिएको चौधरीले बताए ।

लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १२ मन्त्रालय छन् । अव बन्ने नयाँ सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि प्रदेशको कामकाजलाई प्रभावकारी बनाउन जिम्मेवारी निर्वाह गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

एमालेका प्रमुख सचेतक तुलसी चौधरीका अनुसार अन्य साना दलहरुलाई समेत सरकारमा सहभागी गराउने योजना रहेको छ । प्रदेशसभामा ८७ सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे