लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासकाे मत लिदै, विपक्षमा मतदान गर्न कांग्रेस-एमालेकाे ह्वीप



लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासकाे मत लिदै, विपक्षमा मतदान गर्न कांग्रेस-एमालेकाे ह्वीप
भालुवाङ ६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज दिउँसाे विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री महराले संविधानले दिएको अधिकारलाई उपयोग गर्दै विश्वासले मत लिन लागेकाे उनकाे सचिवालयले जनाएकाे छ ।  प्रदेशसभाकाे चौथो अधिवेशनको २४ औं बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची समेत सार्वजनिक भएको छ ।
प्रदेशसभाकाे २४ औं बैठकमा मुख्यमन्त्री महराले वक्तव्य सहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्ताव माथी छलफल भई उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए । आफू अल्पमत परेपनि सरकारबाट बाहिरिदा संविधानले दिएको अधिकारलाई उपयोग गर्ने मुख्यमन्त्री महराले बताए । राजिनामा दिनु भन्दा विश्वासकाे मत लिएर बाहिँदा नै संविधानले दिएकाे अधिकार उपयाेग पनि हुन्छ, त्यसैले राजिनामा नदिने मुख्यमन्त्री महराले बताए ।
यस्तै बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट मौजुदा मन्त्रिपरिषद्मा कार्यविभाजन गरी पुर्नगठन गरिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेकाे छ । केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने हुन्छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले मुख्यमन्त्रीसँग माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चा एक/एक गरी १२ जनाको मात्रै समर्थन रहेको देखिन्छ ।
यता लुम्बिनी प्रदेश कांग्रेस र एमाले संसदीय दलले मुख्यमन्त्री जाेखबहादुर महराको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । एमाले संसदीय दल प्रमुख सचेतक तुलसी प्रसाद चाैधरीले आज कांग्रेस-एमालेकाे दलकाे संयुक्त बैठक बसेर सांसदहरूलाई अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको बताए । कांग्रेस संसदीय दल प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले आज बिहान कांग्रेस-एमालेकाे संयुक्त बैठक बसेर थप रणनीति बनाइने समेत बताए ।
यस्तै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि नेकपा एमाले र नेपाली कांग्रेसले आन्तरिक गृह कार्य समेत शुरू गरेका छन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशसभाका दुई ठूला राजनीतिक दल एमाले र कांग्रेसले मिलेर सरकार बनाउन आन्तरिक गृहकार्य शुरू गरेका हुन् ।  लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्ने छ । एमालेकाे २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पु¥याउन सहज देखिएको हो । एमालेले मुख्यमन्त्री पाए संसदीय दलका नेता लीला गिरी र कांग्रेसले पाए संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्नेछन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे