विपदलाई बीमा सँग जोड्न आवश्यक छ : सरोकारवाला



विपदलाई बीमा सँग जोड्न आवश्यक छ : सरोकारवाला

भालुवाङ २७ असार । विपद कहिले आइपर्छ कसैलाई थाहा हुदैन ।

बाढी, पहिरो, आगलागी, भूकम्प जस्ता प्राकृतिक विपदबाट कयौँ मानिसहरुले संसार त्याग्नु परेको छ भने कति घाईते र अपांग भएर बस्नु परेका प्रशस्त उदाहरण हामी माझ छन् । अर्बौंको सम्पत्ती नोक्सान भएपछि मानसिक सन्तुलन समेत गुमाउनेहरु पनि हाम्रो समाजमा छन् । चल–अचल सम्पत्तीको हानी नोक्सानीले मानिसलाई कति खेर पागल बनाउछ त्यो पनि थाहा हुँदैन् ।

महलको वासबाट कति बेला सडकमा पु-याउछ, कसलाई के थाहा ? केही वर्ष अगाडि भूकम्पले नेपालीहरुलाई सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न सक्ने पाठ सिकाएको छ । आपत विपदमा कसरी एकतावद्ध भएर पीडितको उद्धार गर्न सकिन्छ भन्ने कुरा पनि भर्खरै मात्र तराईको बाढी र डुवानको समस्याले प्रमाणित गरेको छ । यस्ता विपदमा तत्कालको लागि राहतको कार्यक्रम प्रभावकारी भए पनि दीर्घकालीन रुपमा भने उठ्नै नसक्ने गरि थिचिदिन्छ ।

घर, खेतबारी मात्रै होइन, परिवारको सदस्य समेत गुमाउनेहरुको अवस्था कस्तो होला ? आफ्नो अभिभावक गुमाउने कलिला बालबालिकाको भविष्य कस्तो होला ? उनीहरुको जीवन कसरी अगाडि बढ्ला ? यवात् प्रश्नहरु हाम्रो मन मस्तिष्कम छन् ।

विभिन्न संघ संस्थाहरुले केही सहयोग गरे त ठिकै छ । नभए कसरी जीवन चलाउने ? कहाँ जाने ? के गर्ने ? कसको सहारा खोज्न जाने ? यस्ता प्रश्नहरुको जवाफ एउटै छ, ‘बीमा’ । बीमा नै जिवनको सहारा हो । बीमा लेखमा उल्लेख गरेको प्रक्रिया पूरा गरेपछि दाबी र हक सजिलै प्राप्त गर्न सकिन्छ ।

कही कतै कसैको आश र भरमा वर्षौं कुर्नु पनि पर्दैन् । बीमा कार्यक्रमहरुले हरेक जोखिमहरुबाट हुन सक्ने सम्भावित हानी नोक्सानीको सुरक्षित गर्दछ । जीवन बीमा होस वा र्निजिवन, यस्ता बीमा योजनामा सहभागि भएपछि तपाईको जीवनमा आइपर्ने समस्या र हानी नोक्सानी आर्थिक सुरक्षाको ग्यारेन्टी प्रदान गर्दछ । आफ्नो लगानी र परिवारको भविष्यलाई सुरक्षित गर्दछ ।

बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा सञ्चालन हुने तथा विदेशी ठूला कम्पनीसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनीहरु आधिकारीक, भरपर्दो र विश्वासीलो मानिन्छन् ।

विपदलाई बीमा सँग जोड्न आवश्यक छ : सरोकारवाला
विपदमा बीमाको महत्त्वपूर्ण भुमिका रहने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

शहरी विपद तथा भुकम्पीय पुर्व तयारी परियोजना (सुपर), यूएनडिपी, यूनिसेफ, यूएनवुमन र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार दाङको राप्ती गाउँपालिका-१ भालुवाङमा आयोजना गरेको विपदमा बीमा अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले सो कुरा बताएका हुन् ।

उनीहरूले विभिन्न किसिमका विपदबाट हुने क्षति कम गर्न सरकार तथा विभिन्न संघसंस्थाले दिने राहतले क्षणिक राहत भएपनि दिर्घकालिन राहत प्राप्त गर्न र क्षति न्युनीकरण गर्न तथा राज्यको भार कम गर्न बीमा नै महत्त्वपूर्ण हुने सहभागीहरूले बताएका थिए । त्यस्तै उनीहरूले ३ तहकै सरकारले त्यस तर्फ ध्यान दिन र नागरिकहरूलाई सुसुचित गर्नुपर्ने बताएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कडेलको अध्यक्षता एवम् मधुवन नगरपालिकाकी उपमेयर अनिता चाैधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक समीर प्रताव सिंह, नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका कार्यालय प्रमुख पुर्णबहादुर थापा, वरिष्ठ कार्यक्रम अधिकृत चक्र बम लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका ४ वटा उपमहानगरपालिका, राप्ती र गढवा गाउँपालिका, लमही नगरपालिका, प्रदेश मन्त्रालयका विपद फोकल पर्सन, रेडक्रसकर्मी गरि ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन युनिसेफ सुपर परियोजना संयोजक सुवास ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे