भालुवाङ ट्राफिकको एक्सन : ओभर स्पीड सवारीसाधान धमाधम नियन्त्रणमा लिंदै



भालुवाङ ट्राफिकको एक्सन : ओभर स्पीड सवारीसाधान धमाधम नियन्त्रणमा लिंदै

भालुवाङ २७ असार । दाङको देउखुरीमा पछिल्लो समय सवारी दुर्घटना बढ्न थालेपछि भालुवाङ ट्राफिक प्रहरीलेसक्रियता बढाएको छ । पूर्व—पश्चिम राजमार्ग अन्र्तगत लमही—भालुवाङ सडक खण्डमा सवारीको चाप बढे संगै सडक दुर्घटना समेत बढ्न थालेपछि अस्थाई ट्राफिक प्रहरी पोष्ट भालुवाङले आफ्नो सक्रियता बढाएको हो ।

दाङ—देउखुरी स्थित पूर्व-पश्चिम राजमार्गमा तीब्र गतिमा गुड्ने सवारी साधनलाई ट्राफिक प्रहरीले धमाधम नियन्त्रणमा लिएर कार्वाही समेत गर्न थालेको छ । तीब्र गतिमा गुडेका सवारी साधन दुर्घटनामा पर्न थालेपछि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राजमार्गमा तीब्र गतिमा गुड्ने सवारी साधनमाथि भालुवाङ ट्राफिक प्रहरीले निगरानी समेत बढाएको छ ।

स्पीड जाँच गर्ने लेजर गन मेसिन अर्थात् राडर गन मार्फत सवारी साधनको गति नाप्न थालिएको अस्थाई ट्राफिक पोष्ट भालुवाङका प्रमुख भुपेन्द्रप्रसाद गौलीले जानकारी दिनुभयो । राजमार्गमा तीब्र गतिमा गुड्ने सवारी साधनकै कारण दुर्घटना बढिरहेको बताउँदै भालुवाङ ट्राफिक प्रहरी प्रमुख गौलीले दुई पांग्रे र चार पांग्रे सवारी साधनको गति बढी हुने भएकाले ती सवारीसाधन माथि निगरानी बढाएको बताए ।

उनले निर्धारित गति भन्दा तीब्र गतिमा सवारी साधन चलाउनेलाई कारवाही समेत गरिएको बताए । ‘तीब्रगतिमा गुड्नु नै जोखिम निम्त्याउनु हो । सवारी साधन जाँचसँगै सचेत पनि पार्ने गरे काम पनि गरिरहेका छौँ’- भालुवाङ ट्राफिक प्रहरी प्रमुख गौलीले भने । ‘मोटरसाइकल, कार, स्कुटी जस्ता सवारी साधनको गति अधिक देखिन्छ । गति नियन्त्रण नै दुर्घटना न्यूनीकरणको एउटा महत्वपूणर् उपाय पनि हो, उनले भने ।’

बिहिबार मात्रै पूर्व-पश्चिम राजमार्गको लमही—भालुवाङ सडक खण्डको मसुरियामा राडर गन मार्फत सवारी साधनको गति नाप्ने अभियानको शुरुवात भएको छ । पहिलो दिन मै अन्तराष्ट्रिय कुटनितिक नियोगको गाडी देखि सरकारी तथा सार्वजनिक र निजी सवारी साधनको गति नापेर कार्वाही समेत गरेको अस्थाई ट्राफिक पोष्ट भालुवाङका प्रमुख भुपेन्द्रप्रसाद गौलीले जानकारी दिए ।

पहिलो दिन बिहिबार मात्रै अन्तराष्ट्रिय कुटनितिक नियोग (युएन) कार, घोराही उप—महानगरपालिका स्कारपियो र राप्ती गाउँपालिकाको कृषि एम्बुलेन्स, एउटा सरकारी मोटरसाइकल र २० वटा निजी तथा सार्वजनिक सवारीसाधन गरी २५ वटा सवारीसाधनले तीब्र गतिमा गाडी चलाएको भन्दै कार्वाही समेत गरिएको ट्राफिक प्रमुख गौलीले बताए । उनीहरुले राजमार्गमा ६० भन्दा बढीको स्पीडमा गाडी चलाएको भन्दै पहिलो चरणमा ट्राफिक नियम अनुसार प्रति सवारी एक हजारका दरले जरिवाना गरी सम्झाई बुझाइ गरेर छोडिएको उनले बताए ।

राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारी साधनलाई कारवाही गरिएको छ । सवारी साधन ६० किलोमिटर प्रतिघण्टा भन्दा बढीको दरले हुइकिने गरेका छन् । दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा अभियान केन्द्रित छ ।

‘हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीब्र गतिका सवारी साधनबारे तत्काल संकेत दिन्छ’- जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश शाहीले भने । ‘तीन सय मिटरमा आएपछि गति मापन गर्छ । गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारवाहीको दायरामा ल्याएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहीले भने ।’

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स-प्रमाणसहितको चिट दिई कारवाही गर्न पनि सहज भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । राडार गनले सवारीको गति नापेर हेर्दा तीब्र गतिमा अधिकांश निजी कारहरु, भाडाका सार्वजनिक बस, मोटरसाइकल र स्कुल बस पनि तीब्र गतिमा गुड्ने गरेका छन् ।

निर्धारित गति भन्दा वेगमा हुइकिने सवारी साधनलाई कारवाही समेत गरिएको छ । ट्राफिक प्रहरीले विद्यालय तहमा पनि ट्राफिक सचेतना अभियान समेत चलाएको छ । ट्राफिक प्रहरी कार्यालयले सवारी साधनका चालक, पैदल यात्री र आम सर्वसाधारण नागरिकलाई ट्राफिक नियम पालनाको बारेमा जानकारी गराउने गरेको छ ।

‘केही दिनदेखि राजमार्गमा सवारी साधन दुर्घटनाको संख्या बढेको देखिन्छ । त्यही भएर हाइवे केन्द्रित सवारी जाँच अभियान पनि केन्द्रित छ’- ट्राफिक कार्यालय दाङका प्रमुख शाहीले भने । ‘सवारी चालकको लापरवाही, तीब्र गति, मापसे, लापसे जस्ता कारणले गर्दा दुर्घटना हुने गरेको छ । हामी दुर्घटना न्यूनीकरणका लागि जनचेतना सँगै गल्ती गर्नेलाई कारवाही दुबै रणनीतिका साथ अघि बढेका छौं ट्राफिक प्रमुख शाहीले भने ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे