नारायणगढ–मुग्लिनमा पहिरोले २ वटा बस बगायो, पाँच दर्जन यात्रु बेपत्ता



नारायणगढ–मुग्लिनमा पहिरोले २ वटा बस बगायो, पाँच दर्जन यात्रु बेपत्ता

चितवन २८ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो ।

लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसेको आशंका प्रहरीले गरेको छ । ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन । दुवै बस र यात्रुहरुको अवस्था अज्ञात छ । प्रमुख जिल्ला अधिकारी यादवले घटनास्थलमा पहिरो पन्छाउँदै खोजी कार्य जारी रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको पखटाइएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे