LISTEN LIVE RADIO

फेसबुकको स्टाटसबाट बनेको घर बिरमान दम्पतिलाई हस्तान्तरण



फेसबुकको स्टाटसबाट बनेको घर बिरमान दम्पतिलाई हस्तान्तरण

शिबराज पन्थी, गढवा ४ पुस ।

रेडक्रसको त्रिपाल मुनी २ बर्ष बिताएका गढवा—६ का बिरमान दमाई र कुस्मी दमाईले सरकारले बनाइदिएको पक्की घर पाएका छन् । शनिवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका सांसद एवं जनता आबास कार्यक्रम प्रदेश १ का संयोजक इन्द्रजित थारुले बिरमानका दम्पतिलाई टिका र माला लगाएर बिधिवत् रुपमा घर हस्तान्तरण गरेका हुन् ।

खरको चुहिने छानो । सिठाको बार त्यो पनि हाबाहुरी र बर्षात्को पानीले छानो र भित्तो भत्काएपछि गढवा—६ प्रगति नगरका बिरमान दमाईका बृद्धदम्पति दुई बर्ष सम्म रेडक्रसले दिएको त्रिपालमुनि जिबन गुजारा गरे । सामाजिक संजालमा स्थानीय हिमा अधिकारीले उनको समस्या उजगार गरेपछि प्रदेश सरकारका सांसद इन्द्रजित थारुको ध्यान तानियो ।

यसैबीच तुलसीपुरका प्रेमबिवस घर्ती नेतृत्वको पत्रकारहरु र ब्यवसायीहरुले झण्डै २६ हजार बराबरको नगद तथा जिन्सी राहत संकलन गरेर गढवामा आई सांसद थारु र गाउँपालिकाका अध्यक्ष तथा वडाध्यक्षको रोहवरमा राहत वितरण गरे । सोही कार्यक्रममा सांसद चौधरीले बिरमान दम्पतिको प्रदेश सरकारको जनता आबास कार्यक्रम मार्फत घर बनाइदिने प्रतिवद्धता जाहेर गरेका थिए ।

सोही बमोजिम २ कोठा, चर्पी र ब्राण्डा सहितको घर तयार भयो । घर बनेपछि बिरमान दम्पति खुसी भएका छन् । जिवनमा पक्की घरमा बस्ने सपनामा पनि सोंचेको थिइन, सरकारले घर बनाइदियो । अहिले जुनी बदलेको महसुस गरेको छु–बिरमान दमाइले देउखुरी टुडेलाई भने । प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयको प्राबिधिक सहयोगमा ३ लाख ३६ हजार अनुदानमा बिरमान दमाइको घर तयार भएपछि हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै सांसद थारुले नेपालको संबिधानमा उल्लेख भए बमोजिम गरिब जनतालाई आवासको मौलिक हक अन्तर्गत बिरमान दमाइको घर बनेको बताउदै शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य सम्प्रभूत्व जनताको मौलिक हक अन्र्तगत सरकारले संबिधानको कार्यान्वयन गर्दै रहेको धारणा राखे । सिमान्तकृत र श्रमजिवी बर्गको मौलिक हक र उनीहरुको सम्मान गर्नु राज्यको दायित्व भएको बताउँदै घर बनाउने अभियानमा सहयोग गर्ने सबैलाई सांसद थारुले धन्यवाद दिए ।

घर हस्तान्तरण कार्यक्रममा बोल्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्यले प्रदेश सरकारले बिरमान दमाइको घर निर्माण गरी अभिभावकत्वको भूमिका निर्बाह गरेकोमा प्रशंसा ब्यक्त गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गढवाका इन्चार्ज यमनारायण पोखे्रल (बिश्वास), नागरिक समाज गढवाका संयोजक मोहनकुमार पाण्डेय, दलित शसक्तिकरण अभियान गढवाका अध्यक्ष बेगम गहतराज र देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट लगायतले बोलेका थिए ।

प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत पहिलो बर्ष आफ्नो निर्वाचन क्षेत्रमा ४३ घर गतबर्ष पनि ४३ घर र यसबर्ष कोभिड महामारीका कारण ६ वटा घर निर्माण भएको कार्यक्रममा सांसद थारुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे