घोराही उपमहानगरपालिकाले ल्यायाे २ अर्ब ४२ करोड बढीकाे बजेट



घोराही उपमहानगरपालिकाले ल्यायाे २ अर्ब ४२ करोड बढीकाे बजेट

दाङ ९ असार । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरसभाको १५ औं अधिवेशनमा आइतबार उपप्रमुख हुमाकुमारी डिसीले उक्त बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालु खर्च १ अर्ब २७ करोड १० लाख १२ हजार अर्थात ५२.३५ प्रतिशत र पुँजीगत खर्च १ अर्ब १५ करोड ६७ लाख ६ हजार अर्थात ४७.६५ प्रतिशत रहेको छ । लैंगिक हिंशामुक्त नगर घोषणा, सुरक्षित वैदेशिक रोजगार नगर घोषणा र खोतीयोग्य जमिन बाँझो रहन नदिने जस्ता नयाँ कार्यक्रम बजेटमा समेटिएका छन् ।

बजेटमा सिंचाइ, डिपबोरिङ, कुला, बाँध निर्माण, किसानलाई अनुदानमा सामग्री वितरणलगायतका कृषि सम्बन्धी योजनालाई प्राथमिकता दिइएको छ । त्यसैगरी कृषियोग्य भूमि बाँझो हुन नदिन भूमि बैंक कार्यक्रमलगायत कृषि विकास कार्यक्रममा ३ करोड २३ लाख ५१ हजार रुपैयाँ विनियोजन गरिएको छ । पशुपालनतर्फ १ करोड २० लाख, पर्यटन तथा संस्कृती प्रबर्धनतर्फ २ करोड ८३ लाख ७५ हजार, शिक्षा, युवा तथा खेलकुदतर्फ ८४ करोड ८४ लाख ४७ हजार रुपैयाँ विनियोजन भएको छ । जनस्वास्थ्य प्रबर्धनका लागि ९ करोड २६ लाख ८५ हजार, महिला, बालबालिका तथा सामाजिक समावेशिकरणतर्फ १ करोड ११ लाख ३० हजार र बहुवर्षीय पूर्वाधार विकासका लागि ५० करोड ९४ लाख रुपैयाँ विनियोजन भएको छ ।

सडक, खानेपानी, विद्युत, पार्क, उद्यान लगाएतका पूर्वाधार विकासका लागि ८१ करोड ५३ लाख ४५ हजार, सरसफाई, वन, वातावरण र विपद् व्यवस्थापनका लागि ३ करोड ५३ लाख ४५ हजार रुपैयाँ विनियोजन भएको छ । सूचना तथा सञ्चार प्रविधितर्फ ७० लाख, वडा कार्यालयतर्फ १५ करोड २९ लाख ८७ हजार र दैनिक कार्य सञ्चालन, आन्तरिक व्यवस्थापन, तलब भत्तातर्फ ३६ करोड रुपयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे