सरकारले बनाउने नीति कार्यक्रमको कार्यान्वयनमा समस्या छ : मन्त्री अधिकारी



सरकारले बनाउने नीति कार्यक्रमको कार्यान्वयनमा समस्या छ : मन्त्री अधिकारी

भालुवाङ २ असार । लुम्बिनी प्रदेश महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले सरकारले बनाउने नीति तथा कार्यक्रम कार्यान्वयन नहुने समस्या रहेको स्वीकार गरेकी छिन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वय तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशले आइतवार दाङको राप्ती गाउँपालिका १ भालुवाङमा आयोजना गरेको स्वास्थ्य पुर्नस्थापना सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारले बनाएको नीति तथा कार्यक्रम फितलो रहेको र त्यसको अनुगमन निरिक्षण नहुने समस्या रहेको बताएकी छिन् । ती समस्यालाई समाधान गर्न आफु मन्त्रालयमा रहुन्जेल सम्म हरेक कार्यक्रमको अनुगमन र निरिक्षण गर्ने योजना बनाएको बताएकी छिन् ।

त्यस्तै मन्त्री अधिकारीले अपाङ्ग नभएका व्यक्तिहरु सरह अपाङ्गता भएका व्यक्तिहरुले लाउने, खाने, बस्ने र राज्यले दिएका हरेक अधिकारहरुलाई सहज तरिकाले उपयोग गर्न पाउनु पर्ने बताएकी छिन् । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई पुर्नस्थापना गर्न जरुरी रहेको बताएकी छिन् । उनले आगामी दिनमा अपाङ्गता संगै स्वास्थ्य, पुर्नस्थापना क्षेत्रमा चाहिने बजेट र क्रियाकलाप प्रति मन्त्रालय सचेत रहने भन्दै यसमा महासंघ र सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले तीनै तहको सरकारले ल्याउने बजेटमा निर्देशिका सहितको बजेट ल्याउन सरकार सँग माग गरेका छन् । उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई वर्ग अनुसारको सेवा सुविधा उपलब्ध गराउनुपर्ने, हरेक कार्यालयहरुमा दोभासेको व्यवस्था हुनुपर्ने, पहुँचयुक्त संरचना हुनुपर्ने, औषधी तथा उपचारमा छुट पाउनुपर्ने, स्वास्थ्य बीमा सहज तरिकाले बनाउन माग गरेका छन् । त्यस्तै उनीहरुले अपाङ्गता भएका ब्यक्तिहरुको समृद्धिका लागि तीन वटै सरकारले भौतिक पुर्वाधार संगसंगै स्वास्थ्य र पुर्नस्थापना सबालमा योगदान दिनुपर्ने कुरामा जोड दिएका थिए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष देवीदत्त आचार्य, स्वास्थ्य मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका परियोजना व्यवस्थापक संदिप विक, स्वास्थ्य मन्त्रालयका निजी सचिव मानबहादुर विक लगायतले आ–आफ्नो भनाई राखेका थिए । भने कार्यक्रममा सहभागी लक्ष्मी चौधरी, बसन्ती वलीले जिज्ञासा राखेका थिए । महासंघका कोषाध्यक्ष अजयकुमार शर्माले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन महासंघकी उपाध्यक्ष  देवा डाँगीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे