समाचार प्रभाव : जग्गा नापीका नाममा अवैध तरिकाले पैसा असुल गर्ने राप्तीका ३ कर्मचारी निलम्बित



समाचार प्रभाव : जग्गा नापीका नाममा अवैध तरिकाले पैसा असुल गर्ने राप्तीका ३ कर्मचारी निलम्बित

भालुवाङ २२ जेठ । जग्गा नापीका नाममा अवैध तरिकाले पैसा असुल गर्ने राप्ती गाउँपालिकाका ३ कर्मचारी निलम्बित भएका छन् ।

केही महिना अघि दाङ-देउखुरीको राप्ती गाउँपालिका-३, खुरुरियामा गाउँपालिकाबाट खटिएका नापीका कर्मचारीहरुले ऐलानी जग्गा नाप्दा स्थानीयबासीबाट ठुलाे रकम असुल गरेको विषयमा राप्ती गाउँपालिकाले गठन गरेको छानबीन समितिले दोषी देखेपछि गाउँकार्यपालिकाको बैठकले भूमि शाखामा कार्यरत गाउँपालिकाकी सर्वेक्षक बबिता जिसी, अमिन हिक्मत साउथ र फिल्ड सहायक अमृत पुजालीलाई निलम्बनमा गरेको छ ।

जग्गा नापी गर्ने बाहानामा स्थानीय सँग अवैध पैसा असुलेको तथ्य सहितको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण भएपछि गाउँपालिकाले सुशासन समितिका संयोजक देवप्रसाद चाैधरीको संयोजकत्वमा गठित छानबिन समितिले विभिन्न चरणमा छानबिन गरी राप्ती गाउँपालिका गाउँकार्यपालिकामा प्रतिवेदन बुझाएपछि सोमबार बसेको कार्यपालिका बैठकले रकम असुल गरेकाे प्रमाणित गर्दै ती ३ जना कर्मचारीहरूलाई निलम्बन गरेको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिएका छन् ।

अबैध तरिकाले रकम असुल गरेकाे तथ्य बाहिरिएकाे करिब डेढ महिनापछि पालिकाले ती कर्मचारीहरुले रकम असुलेकाे प्रमाणित गर्दै निलम्बिन गरेकाे हाे । छानबिन समितीले अध्ययन गरे प्रतिवेदन बुझाएकाे करिब एक महिनापछि साेमबार कार्यपालिकाकाे बैठक बसी उक्त प्रतिवेदन माथि सुनवाई गर्दै ती तीनै जना कर्मचारीहरुलाई निलम्बन गर्ने निर्णय गरेकाे प्रवक्ता चाैधरीले जानकारी दिए ।

निस्सा प्राप्त गर्न गाउँपालिकामा फारम भरेका खुरुरियाका स्थानीयबासीबाट ऐलानी जग्गा नाप्न खटिएका नापीका कर्मचारीहरुले करिब १८ जना संग करिब ५२ हजार बढी रकम असुल गरेको तथ्य खुलेको थियो । रकम असुल गरेको तथ्य बाहिर आएपछि नापी टोली गाउँमै पुगी असुल गरेको रकम समेत फिर्ता गरेका थिए । रकम असुल गरेको बिषयमा देउखुरी टुडे डटकमका अध्यक्ष/प्रधानसम्पादक सन्तोषकुमार गुप्ता, कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, नेकपा एमालेका अग्रज नेता धर्मराज अधिकारी र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिप्रसाद भुसाल सहितको टोली गाउँमा पुगी रिपोटिङ्ग गरेर फर्केको केही घण्टामा कर्मचारीको टोली गाउँमै पुगी रकम फिर्ता गरेका थिए ।

दाङ जिल्ला समन्वय समितीकी सदस्य द्रोपती चौधरी, राप्ती गाउँपालिका—३, का वडा सदस्य सान्तप्रसाद चौधरी, गाउँपालिकाकी सर्वेक्षक बबिता जिसी, अमिन हिक्मत साउथ, फिल्ड साहायक अमृत पुजाली सहितको टोली गाउँमा पुगी उक्त रकम फिर्ता गरे पनि छानबिन समितिले कर्मचारीलाई मात्र दोषी भेटाएको छ । जिल्ला समन्वय समितीकी सदस्य द्रोपती चौधरीको घरबाट उक्त रकम फिर्ता गरिएको थियो । पिडितहरुलाई जनप्रतिनिधिको निवासमा बोलाई कागजमा हस्ताक्षर समेत गराएर उक्त रकम फिर्ता गरिएको थियो । स्थानीयबासीकाे नापी टोलीले ५२ हजार बढी रकम असुल गरेको आरोप लगाएपनि नापी टोलीले ४२ हजार ५ सय रकम मात्र लिएको र त्यही रकम फिर्ता गरेको त्यति बेलानै उनीहरूले पत्रकार सामु स्वीकार समेत गरेका थिए ।

उनीहरूले एक जना संग ११ हजार देखि १५ सयका दरले रकम असुल गरेको आरोप लागेको थियो । खुरुरिया गाउँका कान्तुप्रसाद चौधरी संग ११ हजार, जुगमाया चौधरी संग ९ हजार र अन्य १५/१६ जना संग जनही १ हजार ५ सयका दरले रकम गाउँपालिकाबाट नाप्न आउनु भएका हिकम्त साउथ बुझाएका थिए ।

गत चैत २५ गते उक्त गाउँमा जग्गा नाप्न राप्ती गाउँपालिका सर्वेक्षक बबिता जिसीको नेतृत्वमा अमिन हिक्मत साउथ, फिल्ड साहयक अमृत पुजाली गएका थिए । गत वैशाख १४ गते बसेको कार्यपालिकाको बैठकले वडा नम्बर ५ का वडा अध्यक्ष तथा शुसासन समितिका संयाेजक देव प्रसाद चौधरीकाे संयाेजकत्वमा ७ सदस्य छानबिन समिति गठन गरेको थियो ।
जसको सदस्यहरुमा गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरी, १ नम्बर वडा अध्यक्ष गेमे खड्का, ३ नम्बर वडा अध्यक्ष उमेश अधिकारी, ४ नम्बर वडा अध्यक्ष विर बहादुर चौधरी, कार्यपालिका सदस्य गिता चौधरी र प्रशासन शाखा प्रमुख विकास ज्ञवाली रहेका थिए ।

याे पनि पढ्नुस्…

दाङको राप्तीमा जग्गा नापी गर्ने बहानामा जनप्रतिनिधि र कर्मचारीले असुले रकम (बिबरण सहित)

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे