LISTEN LIVE RADIO

लालमटिया महोत्सवमा आज चर्चित थारु गायक राज कुश्मी लगायतका कलाकारहरु आउँदै



लालमटिया महोत्सवमा आज चर्चित थारु गायक राज कुश्मी लगायतका कलाकारहरु आउँदै

भालुवाङ १ माघ । दाङको राप्ती गाउँपालिका २ लालमटिया टुडिखेलमा सञ्चालित छैंठौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको सोमवार आज पाँचौ दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मञ्च तताउने भएका छन् ।

आज थारु समुदायले मनाउने महान् चार्ड माघ पर्वको अवसरमा चर्चित थारु गायक राज कुश्मी, गायक तथा मोडेल संदिप न्यौपाने, थारु गायक दोषहरण चौधरी, गायक तथा उद्घोषक प्यार अलि खान लगायतका कलाकारहरुको प्रस्तुती रहने मेला व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् । “कृषि उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०८० को अभियान” भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा पुस २६ गते देखि माघ ८ गते सम्म लालमटिया टुडिखेलमा महोत्सव सञ्चालन गरिएको छ । महोत्सव अवधिभर करिब ४ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र ७ करोड बराबरको कारोवार हुने अनुमान रहेको महोत्सव संयोजक सुरज खड्काले जानकारी दिएका छन् ।

स्थानीय उत्पादित वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने महोत्सवको उदेश्य रहेको छ । संघको भवन निर्माण तथा विपत व्यवस्थापन कोष बनाउने मुख्य लक्ष्य सहित महोत्सव सञ्चालन गरिएकोे संयोजक खड्काले बताए । महोत्सवले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका भित्र रहेका अपार सम्भावना रहेका र अवसरको खोजी रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्धना थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । महोत्सवमा यस क्षेत्रको पर्यटन तथा कृषि समेतको विकास र विस्तार गर्नका लागि स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, चर्के पिङ, बाल उद्यान रहेका छन् ।

महोत्सव अवधीभर सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति ९० रुपैया, विद्यार्थीका लागि परिचय—पत्रका आधारमा ७० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगतालाई परिचय—पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । यसै गरी महोत्सवमा राप्ती डान्स आइडल २०८० समेत सुरु भएको छ । गत पुस २७ गते देखि आइडल सुरु भएको हो । पहिलो दिन १५ जनाबाट अडिसन सुरु गरी १० जना छनौटमा परेका थिए भने दोस्रो दिन पुस २८ गते हिपप राउण्ड पार गरेका छन् । पुस २९ गते १० जनाबाट सिंगर राउण्ड सुरु गरिएको आइडल संयोजक तथा प्रमुख निर्णयक दिपक बर्माले जानकारी दिएका छन् । यसै गरी फिल्मी राउण्ड पार गरिसकेपछि माघ २ गते देखि दर्शकहरुबाट भोटिङ राउण्ड सुरु गरिने आइडल संयोजक तथा प्रमुख निर्णयक बर्माले बताएका छन् । आइडलको निर्णयकमा आइडल संयोजक दिपक बर्मा र सहसंयोजक सुरेश पन्थी रहेका छन् । आइडलमा प्रथम हुनेलाई नगद २० हजार र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद १० हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र पुरस्कार रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे