स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न बनाउँनुपर्छ : सभामुख घर्ती



स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न बनाउँनुपर्छ : सभामुख घर्ती

भालुवाङ २२ कार्तिक । स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनको अवस्था बारेमा जनप्रतिनिधिहरुसँग छलफल गर्न लुम्बिनी प्रदेश सभाले कार्यक्रम सुरुवात गरेको छ ।  बुधवार प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)बाट लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले कार्यक्रमको सुरुवात गरे । लुम्बिनी प्रदेश सभा र स्थानीय तहका बीच कानुन निर्माण तथा कार्यान्वय सम्वन्धी अन्तरक्रियात्मक गोष्ठीको सुभारम्भ गर्दै सभामुख घर्ती मगरले जनतालाई अवसरको उपयोग र सुविधा प्रदान गर्न संघीयताको अभ्यास गरिएको बताउँदै केन्द्रमा अधिकार केन्द्रीत गरेमा त्यसको अनुभूति हुन नसक्ने बताए ।  उनले भने– ‘नियन्त्रीत संघीयता जनताले खोजेको संघीय शासन प्रणाली होईन, स्वायत्तता सहितको संघीयता चाहिएको छ । स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ ।’ उनले स्थानीय तह र प्रदेश सभाको अन्तरसम्वन्धको महत्वलाई बुझाउँन प्रदेशकै १२ जिल्लामा कार्यक्रा संचालन गरिने बताए ।उनले राप्ती उपत्यका दाङका ४ पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरु सहभागी कार्यक्रममा भने– स्थानीय तहले कति कानुन बनाए, प्रदेश सभाले कस्तो कानुन बनाउँदा स्थानीय तहलाई कार्यसम्पादनमा सहजता हुन्छ र बनेका कानुनहरुको कार्यान्वयनको अवस्था बुझ्न पालिका तहमा जान चाहेका छौ । एक हिसावले कानुन निर्माणमा स्थानीय तह र प्रदेश सभाको सम्वन्ध स्थापित गर्न पनि जरुरी देखियो ।’ सभामुख घर्ती मगरले स्थानीय तहले बनाएका कानुनको वारेमा प्रदेश सभालाई जानकारी दिने कानुनी व्यवस्था भएपनि कुनै पनि पालिकाले कानुनको वारेमा जानकारी नदिएको बताए ।   कार्यक्रममा उपसभामुख मेनुका खांड केसीले स्थानीय तह र प्रदेश सभाको सम्वन्ध स्थापित गर्न यो कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।कार्यक्रम सहभागी पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षहरुले कानुन निर्माणको लागि जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि लगायतको कार्यक्रम संचालन गर्न, कानुन बनाउन अघि स्थानीय तहसंग परामर्स छलफल गर्न, कानुन सम्वन्धी सहजीकरणको लागि कानुन अधिकृतको दरवन्दी श्रृजना गर्न वा कानुनी सल्लाहकारको व्यवस्था गरिदिन आग्रह गरेका थिए । उनीहरुले स्थानीय श्रोत जल, जंगल जमिनमा निर्णयको विषयमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताए । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपाध्यक्ष लक्ष्मी याेगी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी र राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेबि यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मरराज शर्मा , राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पान्डेय, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले पालिकामा भएको कानुन निर्माण र कार्यान्वयनको अवस्था बारेमा प्रकाश पारे । अधिकृत अशोक ढुङ्गानाको संचालनमा भएको कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाको काम कर्तव्य र अधिकारको विषयमा चर्चा गर्दै कानुन निर्माणको प्रकृयाको वारेमा सहजीकरण गरेका थिए । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतहरुले कामको बाेझले गर्दा गाउँसभामा कानुन निर्माणको प्रकृयामा आवश्यक छलफल गर्न नसकिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे