गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर छ : मन्त्री मास्की



गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर छ : मन्त्री मास्की

भालुवाङ ११ भदौ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । गिद्ध संरक्षण अभियान सञ्जाल नेपालको आयोजना एवम् नेपाल पंक्षी संरक्षण संघ काठमाडौँको सहयोगमा दाङ—देउखुरी भालुबाङमा आयोजित लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षण सम्बन्धी लुम्बिनी प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री मास्कीले यस्तो बताएका हुन् ।

उनले गिद्ध संरक्षणसँगै लोपोन्मुख प्रजातिका मौवा, सतिसाल, विजयसाल लगायतका लागि तीन करोड २८ लाख बजेट विनियोजन गरेको बताए । सरकारीस्तरबाट लुम्बिनी प्रदेश सरकारले नै यसरी बजेट बिनियोजन गरेको हो । यसअघि सरकारीस्तरबाट गिद्ध तथा लोपोन्मुख वनस्पति संरक्षणका लागि बजेट विनियोजन नभएको उनले बताए । गिद्ध प्रकृतिको कुचिकारका रुपमा रहेको भन्दै गिद्धले नै मानवलाई लाग्ने हैजा, झाडापखालालगायतका रोगको महामारीबाट जोगाएको समेत बताए ।

त्यस अवसरमा गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतले लुम्बिनीमा दाङ र लालमटियामा गिद्ध रेष्टुरेन्ट रहेको बताउनुभयो । साथै दाङमा नेपालमै एक मात्रै गिद्ध उपचार केन्द्र रहेको जानकारी दिए । नेपालभर हाल सातवटा गिद्ध रेष्टुरेन्टहरु छन् । हाल पशुमा दिइने डाइक्लोफेनेक औषधिकै कारण गिद्ध हराउने अवस्थामा रहेको उहाँको भनाइ थियो । साथै उनले प्राकृतिक वासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतीय तारबार जस्ता कारणले पनि लोप हुने अवस्थामा रहेको बताए । वन मन्त्रालयका अधिकृत धनेश्वर न्यौपानेले अग्ला रुखहरुलाई संरक्षण गर्ने, सुरक्षित आहाराको ब्यवस्थापन गर्ने कार्य भइरहेको बताए ।

सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघ नेपालका कार्यक्रम अधिकृत भुपाल नेपालीले सरोकारवाला, तीनै तहका सरकार, संरक्षित क्षेत्र, डिभिजन वन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणका आधारमा सबै गैरसरकारी संघसंस्थाहरुको सहकार्यको खाँचो रहेको जोड दिनुका साथै विश्वमा, नेपालमा र लुम्बिनी प्रदेशमा गिद्ध संरक्षणको अवस्था, चुनौती र संरक्षणका लागि राज्य तथा संघसंस्थाबाट गरिएका कार्यहरुको बिषयमा प्रस्तुतिकरण गरेका थिए । त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका धनेश्वर न्यौपानेले लुम्बिनी प्रदेश सरकारले यस आर्थिक बर्षको निति तथा कार्यक्रममा गिद्ध संरक्षण सम्बन्धी कार्यक्रमको बिषयमा जानकारी गराएका थिए ।

सो अवसरमा डिभिजन वन कार्यालय देउखुरी लमहीका वन अधिकृत राजु क्षेत्री, मायादेवी गाउँपालिका कपिलबस्तुका प्रमुख प्रशासकीय अधिकृत तथा नेब्ला कपिलबस्तुका अध्यक्ष प्रमेश्वर यादव, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसाल, राप्ती गाउँपालिकाका प्रबक्ता तथा २ नम्बर वडा अध्यक्ष एवम् कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पहलवान चौधरी र नेपाल पत्रकार महासंघ दाङका सह—सचिव दशरथ घिमिरे लगायतका वक्ताले गिद्ध संरक्षणका लागि संघीय, प्रदेश र स्थानीय सरकार गम्भीर बन्नु पर्ने सुझाब दिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका गिद्ध संरक्षणकर्मी, वातावरणकर्मी र पत्रकारहरु गरी करिब ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार सन्तोषकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे