LISTEN LIVE RADIO

देउखुरीकाे राजपुरमा मोटरसाइकल दुर्घटना, राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख बिकको मृत्यु



देउखुरीकाे राजपुरमा मोटरसाइकल दुर्घटना, राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख बिकको मृत्यु

देउखुरी १५ असार । दाङको राजपुरमा मोटरसाइकल दुर्घटना हुँदा राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख तारा प्रसाद बिकको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ६, का कार्यालय सहयोगी अमृत रोका र निमित्त प्रमुख बिक सवार रा ६ प ८९२४ नम्बरको मोटरसाइकल गएरात्रि राजपुर-५, जंग्रहवा चोकमा अनियंत्रित भएर दुर्घटना हुँदा बिक गम्भीर घाइते भएका थिए ।

कालाकाटे–सिक्टा जोड्ने हुलाकी सडकमा अहिले बाटो पिच र नाली निर्माण हुँदै छ । नाली निर्माणका लागि राखिएको बालुवामा चिप्लिएर मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेका बिक लडेर सिमेन्टबाट निर्माण भएको बल्क इट्टामा ठोक्किएको प्रहरीले बताएको छ ।

बिकको बल्क ईट्टामा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेको थियो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बिकलाई कोहलपुर मेडिकल कलेजमा उपचार गर्ने क्रम शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो ।

शान्ति नगर गाउँपालिका वडा नम्बर ७, खैरेनी घर भएका अन्दाजी ३३ वर्षीय निमित्त प्रमुख बिक हाल राजपुर स्वास्थ्य चौकीमा कार्यरत रहनुभएको थियो । स्वास्थ्य चौकीमा कुनै प्रमुख नभएपछि अहिले उहाँलाई निमित्त प्रमुखको जिम्मेवार दिइएको थियो ।

त्यस्तै मोटरसाइकल चालक अमृत रोकाको खुट्टामा चोट लागेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए । मृतक बिकको शबलाई आफन्तले वास्तविक घटना थाहा नपाउदासम्म नल्याउने भनेपछि अहिले बिकको सबलाई कोहलपुर मेडिकल कलेजमै राखिएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता श्याम रोकाले जानकारी दिए ।

यसैबिच राजपुर गाउँपालिकाले शोक विज्ञप्ती जारी गरेको छ । राजपुर गाउँपालिकाको स्वास्थ्य चौकी गंगदीमा इन्चार्जको रुपमा कार्यरत सि.अहेव.तारा प्रसाद बिक एक मिहिनेती, कर्मठ तथा इमानदार कर्मचारी गुमाएको प्रति दुःख व्यक्त गर्दै विज्ञप्ती जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे