LISTEN LIVE RADIO

जग्गा फुकुवाको माग गर्दै प्रदेश राजधानीमा प्ले कार्ड सहित आन्दोलन सुरू



भालुवाङ १९ वैशाख । जग्गा फुकुवाको माग राख्दै मंगलबार देखि आन्दोलन सुरू भएको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा ३२ महिना देखि रोक्का भएको जग्गा यथाशीघ्र फुकुवाको माग राख्दै स्थानीयहरूले आन्दोलन सुरु गरेका छन् ।

नागरिक जनदबाब तथा सङ्घर्ष समिति गठन गरेर राप्ती गाउँपालिका क्षेत्रका किसान, मजदुर, उद्योगी, व्यापारी तथा सर्वसाधारणले आन्दोलन सुरू गरेका छन् ।

उनीहरूले बिहान ९ बजे देखि मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूलाई दवाब दिन मंगलबार पहिलो दिन प्रदेश सभाको मुख्य गेट देखि राजमार्ग सम्म दुई लाइन बनाएर विभिन्न नारा लेखिएको प्ले कार्ड देखाएर सांकेतिक विरोध गरेका थिए । भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जाने बाटोमा रहेको प्रतिक्षालय उनीहरूले धर्ना समेत दिएका छन् । उनीहरूले प्रदेश सरकार रोक्का जग्गा फुकुवा गर, जग्गा रोक्का भएको मिति देखि हाल सम्मको चर्को व्याजदर मिनाहा गर, संविधानको धारा २५ मा सम्पत्तिको हक कार्यन्यवन गर, प्रदेश सरकार हामीलाई गरि खान दे लगायत नारा लेखिएको प्ले कार्ड मन्त्री तथा सांसदहरूलाई देखाएका थिए ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरीले विश्वासको मतलिने दिनै सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राप्ती क्षेत्रका स्थानीयहरूले आन्दोलन सुरु गरेका छन् ।

लुम्बिनी प्रदेश राजधानी घोषणा हुनुअघि जग्गा रोक्का भएको थियो। जग्गा रोक्का भएको साढे २ वर्ष बितिसक्दा पनि जग्गा फुकुवा नभएको भन्दै स्थानीयबासीहरूले विरोध सुरू गरेको संघर्ष समितिका अध्यक्ष शंकर गाैतमले जानकारी दिएका छन् । पहिलो दिन सांकेतिक रूपमा शान्तिपूर्ण आन्दोलन गरिएको र माग पूरा नभए थप आन्दोलन गर्ने अध्यक्ष गाैतमले बताए ।

लामो समयदेखि लुम्बिनी प्रदेशको स्थायी मुकाम भएको ठाउँको जग्गा रोक्का हुँदा दैनिक जीवनयापन सहित उद्योग, व्यापार सञ्चालनमा जटिल समस्या भएको भन्दै स्थानीयहरूले तत्काल रोक्का जग्गा फुकुवा गर्न माग गरेका छन् । जग्गा रोक्का हुँदा अंशबन्डा, किनबेच तथा बैंक एवम् वित्तिय संस्थाहरूबाट समेत कुनै प्रकारको ऋण लिन नपाउँदा आफूहरूले धेरै समस्या भोगेको स्थानीय रणप्रसाद सुवेदीले गुनासो गरेका छन् ।

यता संसद बैठक जाने क्रममा आन्दोलनरत पक्ष सँग मुख्यमन्त्री डिल्ली बहादुर चाैधरीले संसद बैठक लगत्तै बस्ने मन्त्रीपरिषद्को बैठकमा कुरा राख्ने र त्यो विषयमा बुझेर अगाडि बढ्ने बताएका छन् । जनताको समस्यालाई बुझेर रोक्का जग्गा फुकुवाको विषयमा कदम चाल्ने आश्वासन दिएका छन् ।

लुम्बिनी प्रदेशको क्षेत्र रहेको राप्ती गाउँपालिकाको पुरै ९ वटा वडा, गढवाको १, २ र ३ नम्बर वडा त्यसै गरि सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा रोक्का गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे