LISTEN LIVE RADIO

विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्री गिरीको निर्देशन



भालुवाङ ७ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले विपद् जुनसुकै बेला पनि आउन सक्ने भन्दै विपद् आउनु पूर्व नै यसको रोकथाम र जोखिमयुक्त स्थानमा विपद् पूर्वतयारी सुरु गर्न निर्देशन दिएका हुन् ।

प्रदेशभित्र विपद्को उच्च जोखिमयुक्त क्षेत्र रहेको भन्दै मुख्यमन्त्री गिरीले विपदबाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्नतर्फ सरकार योजना बनाएर लाग्ने बताए । ‘लुम्बिनी प्रदेश विपद्को उच्च जोखिममा रहेको क्षेत्रभित्र पर्दछ । यहाँ बाढी, पहिरो, डुवान, आगलागीजस्ता विपद् रहेका छन्’, मुख्यमन्त्री गिरीले भने, ‘विपद् जुनसुकै बेला पनि आउनसक्छ । त्यसैले यसको जोखिम रोकथाम गर्न सरकार योजना बनाएर लाग्छ । विपद्बाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्ने दायित्व सरकारले बहन गर्दछ ।’

विपद् व्यवस्थापन सम्बन्धी आवश्यक कानुन निर्माण गर्न ढिलाइ गर्न नहुने भन्दै मुख्यमन्त्री गिरीले कानुन निर्माणको कार्य थालनी गर्न पनि निर्देशन दिएका छन् । कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश विपद् व्यवस्थापन परिषद् गठन गरेको बताए । प्रदेशभित्र हुने विपद्को जोखिम रोकथाम र न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना निर्माण गरेको भन्दै मन्त्री आचार्यले यसैको जगमा विपद् जोखिम न्यूनीकरण गर्नतर्फ सरकार लागिपर्ने बताए ।

विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना तयार
लुम्बिनी प्रदेशको विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना पारित भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयले तयार पारेको कार्ययोजना पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे