भालुवाङकाे राप्ती नदीमा जमुना रोकाको अन्त्येष्टि, राष्ट्रिय जनमोर्चाको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण



भालुवाङकाे राप्ती नदीमा जमुना रोकाको अन्त्येष्टि, राष्ट्रिय जनमोर्चाको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण

देउखुरी टुडेकर्मी, भालुवाङ १३ मंसिर । बिहीबार त्रिशुलीमा जिप खसेर भएको दुर्घटनामा परी मृत्यु भएकी जमुना रोकाको भालुवाङ स्थित राप्ती नदी किनारमा अन्त्येष्टि गरिएको छ । अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी जीवनसंगिनी जमुना रोकाको पार्थिव शरीरमा शुक्रबार बिहान राष्ट्रिय जनमोर्चाकाे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली संगै अन्त्येष्टि गरिएको हाे ।

रोकाको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष एवं सांसद दुर्गा पौडेल, राजमो नेता बमबहादुर खत्री, कृष्ण खड्का र अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले  पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

त्यसक्रममा शोक मन्तव्य व्यक्त गर्दै राजमो उपाध्यक्ष पौडेलले जमुना रोकाको गाउँ समाजमा राम्रो छवि भएकी र समाजलाई नेतृत्व गर्न सक्ने क्षमता भएकी कार्यकर्ता भएको उल्लेख गर्दै उहाँको निधनले पार्टी स्तब्ध भएको बताइन् । पौडेलले जमुना रोकाको निधनले परिवार सँगै पार्टीलाई पनि अपूरणीय क्षति पुगेको उल्लेख गरिन् ।

अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जिसीले सञ्चालन गरेकाे शोकसभामा राजमोका सयौं नेता कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियाे ।

२६ वर्षीया जमुना प्युठानको झिम्रुक गाउँपालिका–७ का रामबहादुर रोकाको जेठी छोरी हुन् । दुई दिदी बहिनी र तीन दाजुभाइ मध्येकी जेठी जमुनाले बालशिक्षा उमावी मच्छीबाट कक्षा १२ सम्मको अध्ययन गरेकी थिइन् । जमुनाका दुई छोराछोरीमध्ये जेठी छोरी जेनिसा उनीसँगै दुर्घटनामा परेर त्रिशुलीमा हराइरहेकी छन् । उनको खोजी जारी छ । उनका १२ वर्षीया छोरा ज्याक छन् । राजमोकी साधारण सदस्य रहेकी जमुना युवक नेता मुकुन्द रोकालाई राजनीतिमा अगाडि बढाउने प्रेरणाकाे स्रोत थिइन् ।

यता, जमुनासँगै दुर्घटनामा मृत्यु भएका चालक सूर्य केसीको निधनले प्युठानको सौतामारे शोकमग्न भएको छ । केसीको शव अन्तिम संस्कारका लागि प्युठान लगिएको छ । उनका बुवा वैदेशिक रोजगारमा रहेकाले बुवा आएपछि नै अन्त्येष्टि हुने विद्यार्थी नेता सुवाश जिसीले देउखुरी टुडेलाई जानकारी दिए । केसीको प्युठानको सौतामारे फेदीस्थित गर्तङ खोलामा अन्त्येष्टि हुनेछ । अखिल नेपाल युवक संघका स्थानीय नेता समेत रहेका केसीको निधनबाट सिंगो संगठन स्तब्ध भएको जिसीले बताए ।

अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटार तर्फ त्रिशुलीमा खसेको थियाे । जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बेपत्ता भएकोमा जिपसँगै जमुना र चालक केसीको शव फेला परेपनि बालिका हराइरहेकी छन् ।

उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्कन सफल भएका थिए । उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे