दाङमा आज राष्ट्रियसभा सदस्यकाे उपनिर्वाचन हुँदै



दाङ २५ माघ । दाङमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको हुन लागेकाे छ । अहिले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाङको कर्मचारी मिलन केन्द्र घाेराहीमा मतदान हुने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएकाे छ ।

सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेका उम्मेदवार कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य दुबै रोल्पाका हुन् ।

सत्तारुढ दलबाट बिद्रोह गरी नागरिक उन्मुक्ति पार्टीबाट प्रतिष्पर्धामा उत्रिएका राजेन्द्रवीर रायको पुर्खेउली घर कर्णाली प्रदेशको सल्यान जिल्ला हो । मंसिर ४ गतेको निर्वाचनमा उहाँ नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार बन्नु भएकाे थियाे । पछिल्लो समय उहाँ बाँकेमा बस्दै आउनु भएकाे छ । उहाँहरू तीनै जनाले माघ ११ गते राष्ट्रियसभा सदस्य पदका उम्मेदवारी दर्ता गराउनु भएकाे थियाे ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने गर्छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिनुभयाे । लुम्बिनी प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन् । ती मध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन ।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन् । त्यस्तै स्वतन्त्रबाट २ जनाले जितेका छन । तीन जनाले जितेपनि एक जना फेरि माओबादी केन्द्रमै पार्टी प्रबेश गरी सकेका छन् ।

निर्वाचन कार्यालयका प्रबक्ता कँवरले मतगणना सकिएको एक घण्टा भित्रै परिणाम सार्वजनिक भई सक्ने जानकारी दिनु भएकाे छ । गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे