दाङमा जिल्ला प्रशासन कार्यालयले संघ संस्थाहरुको नियमन गर्दै



देउखुरी २४ माघ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाभरका गैरसरकारी संघ संस्थाहरुको नियमन गर्न अनुगमनको कार्यलाई तिब्रता दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता भै आफ्नो कार्यक्षेत्रमा कार्यसञ्चालन गर्दै आएका जिल्लाका कैयन गैरसरकारी संघसंस्थाहरुले दर्ता नविकरणमा चासो नदीएको र समयमा साधारणसभा तथा लेखापरिक्षण नगर्ने गरेको पाइएकोले संघसंस्थाहरुलाई दर्ता भएको बिधानको दायरामा नियमन गर्न गराउन यो अभियान चलाईएको सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जानकारी दिएका छन् ।

हरेक महिनामा ८÷१० वटा सहकारी संस्थाहरुमा स्थलगत अनुगमन गर्ने अभियान चलाएका छौं । कैयन संघसंस्थाहरुले समयमा साधारणसभा नगरेको पाईएको छ भने कति संघसंस्थाहरुले नविकरण समेत नगरेको पाइएको छ–सहायक प्रमुख जिल्ला अधिकारी पुनले भनिन् । कैयन संघसंस्थाहरुले बिधान मिचेर काम गरेकोले तत्काल बिधान शंसोधनको प्रकृयामा जान सुझाव दिएका छौं उनले भनिन् ।
यसै बिच आइतवार गढवा गाउँपालिका स्थित गढवा उद्योग बाणिज्य संघ, दलित शसक्तिकरण अभियान, गढवा होटल ब्यवसायि संघ र गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका बैधानीक कागजातहरुको अध्ययन अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अनुगमनको क्रममा कतिले समयमा साधारणसभा नगरेको,लेखा परिक्षण नगरेको र संस्था नविकरण समेत नगरेको पाइएकोले तत्काल सबै प्रकृया पुरा गर्न तथा नविकरण गर्न गराउन ताकेता गरिएको कार्यालयले जनाएको छ । अनुगमनको क्रममा सबै प्रकृया पुरा गरेका गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र र होटल ब्यवसायि संघलाई कार्यालयको तफर्mबाट धन्यवाद दिइएको छ ।

अनुगमनको क्रममा संघसंस्थाहरुको दर्ता तथा नविकरण, लेखापरिक्षण र साधारणसभा समयमा भए नभएको, बैंकखाता, आफ्नै जग्गा तथा भवन भए नभएको, बैंक मौजदातको अवस्था, अर्थिक स्रोत र संस्था सञ्चालनमा आएका समस्या चुनौती तथा संस्थाहरुले सामाजिक क्षेत्रमा गरेका मुख्य–मुख्य कामहरुको अभिलेख प्रशासन कार्यालयले संकलन गरेको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुन,नासु सिता श्रेष्ठ र पत्रकार लगायतको टिम रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे