घोराहीमा माघ २५ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पुरा



दाङ २४ माघ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बुधबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । अब मतदानको मात्रै प्रतिक्षा रहेको निर्वाचन कार्यालयका प्रमुख नारायण प्रशाद भण्डारीले जानकारी दिए ।

प्रमुख भण्डारीले बुधबार बिहान १० बदेदेखि दिएँसो ३ बजेसम्म मतदानको समय तोकिएको र दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने जानकारी दिए । सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरि तीन जना चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेका उम्मेदवार कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य दुबै रोल्पाका हुन ।

सत्तारुढ दलबाट बिद्रोह गरि नागरिक उन्मुक्ति पार्टीबाट प्रतिष्पर्धामा उत्रिएका राजेन्द्रवीर रायको पुर्खेउली घर कर्णाली प्रदेशको सल्यान जिल्ला हो । मंसिर ४ गतेको निर्वाचनमा उनी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा भिडेका थिए । पछिल्लो समय उनी बाँकेमा बस्दै आएका छन् । यी तीनै जनाले माघ ११ गते राष्ट्रियसभा सदस्य पदका उम्मेदवारी दर्ता गराएका थिए ।

माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको थियो । उम्मेदवारलाई निर्वाचन चिन्हपनि प्रदान गरि सकिएको जानकारी दिए । दलका उम्मेदवारहरुले आ–आफ्नो दल अनुसार चुनाब चिन्ह पाएका छन् । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने गर्छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन् । जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए । लुम्बिनी प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन् । ती मध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २ ÷ २ तथा राप्रपा र जनता प्रगतिशीलले १ ÷ १ स्थानमा जितेका छन ।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४ ÷ ४, जसपा, लोसपा र जनमतले ३ ÷ ३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १ ÷ १ सिट जितेका छन् । त्यस्तै स्वतन्त्रबाट २ जनाले जितेका छन । तीन जनाले जितेपनि एक जना फेरि माओबादी केन्द्रमै पार्टी प्रबेश गरि सकेका छन् ।

लुम्बिनीमा दलहरुको मतभारलाई नियाल्दा परिणाम एमालेका कुमार दसौदीको पक्षमा आउने आंकलन गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका प्रबक्ता कँवरले मतगणना सकिएको एक घन्टा भित्रै परिणाम सार्वजनिक भइ सक्ने जानकारी दिए । गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन थालेको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे