LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई, नागरिकमैत्री बन्ने प्रतिवद्वता



राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाई, नागरिकमैत्री बन्ने प्रतिवद्वता

भालुवाङ २९ पुस । राप्ती गाउँपालिकाले नागरिक सेवालाई सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले राप्तीवासीलाई सहज सेवा दिनु र यस क्षेत्रको विकास गर्नु नै आफूहरुको एकमात्र लक्ष रहेको उल्लेख गर्दै गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह गर्ने सेवालाई सहज, सुलभ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन् ।

गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकहरुको सेवामा गाउँपालिका निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।

‘काम गर्दा ढिलो चाँडो हुन्छ नै तर राप्तीवासीको सेवामा हामी निरन्तर लागेका छौं’– अध्यक्ष विष्टले भने– ‘राप्तीवासीको रचनात्मक सल्लाह, सुझाव र खबरदारी पनि निरन्तर भइरहोस् ।’

सार्वजनिक सुनवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको तर्फबाट शिक्षा शाखा प्रमुख विश्वास बिकले प्रथम चौमासिकमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गर्नुभएको थियो भने सञ्चार चौतारी दाङका सुदर्शन रिजालले गाउँपालिकाले प्रवाह गर्ने सेवामा नागरिकको धारणा समेटिएको सर्वेक्षण रिपोर्ट प्रस्तुत गरेका थिए । प्रस्तुत प्रगति विवरण र नागरिक चासोका विषयमा उपस्थित राप्तीवासीहरुले राप्ती गाउँपालिकालाई सुझाव दिएका थिए । उनीहरुले निःशुल्क शिक्षामा करोडौं खर्च गरिए पनि परीक्षा शुल्क तिर्नुपरेको, कृषि अनुदान नपाइएको, पर्यटन प्रवद्र्धनमा ध्यान नगएको, बेरुजू घटाउन नसकेकोलगायतका गुनासा गर्दै शिक्षा, स्वास्थ्यमा भएका राम्रा कामको प्रशंसा पनि गरेका थिए ।

उठेका सवालमा प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जवाफ दिदै नागरिक सेवा सबल बनाउन सेवाग्राहीलाई समेत भूमिका खेल्न आग्रह गरेका थिए । उनले थुप्रै काम भएको र केही चाहँदा चाहँदै पनि नीति, विधिका अप्ठेराले समस्या परेको भन्दै समग्र राप्तीको विकासका लागि गाउँपालिकाले भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे