लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन आज बस्दै, संसदका जेष्ठ सदस्य भुषालले अध्यक्षता गर्ने



लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन आज बस्दै, संसदका जेष्ठ सदस्य भुषालले अध्यक्षता गर्ने

भालुवाङ १८ पुस । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो पटक पहिलाे अधिवेशन बस्न थालेको हो । सोमवार दुई वटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ ।

पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ ’पारित गरियोस् भनी प्रस्ताव गर्ने छन् । यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका थिए ।

यो अधिवेशनपछि सभामुख र उपसभामुख चयनको लागी बाटो खुल्ने छ । पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।

यता लुम्बिनी प्रदेशको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभा सचिबालय सचिब दुर्लभकुमार पुनका अनुसार सबै सदस्य मध्ये जेष्ठ सदस्य रहेका भुषालले नयाँ सभामुख वा उपसभामुख चयन नहुँदासम्म सभाको अध्यक्षता ग्रहण गर्ने छन् । उनी एमालेबाट गुल्मी २(१) बाट निर्वाचित हुन् । उनी ६९ बर्षीय हुन् । प्रदेशसभाको पहिलो बैठक सोमबार दिउसो १ बजे बस्ने छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे