जीवन उपयोगी शिक्षा नहुँदा बालबालिकाहरुमा संस्कार हराउँदै गएको छ : अध्यक्ष विष्ट



जीवन उपयोगी शिक्षा नहुँदा बालबालिकाहरुमा संस्कार हराउँदै गएको छ : अध्यक्ष विष्ट

भालुवाङ १७ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जीवन उपयोगी शिक्षा नहुँदा बालबालिकाहरुमा संस्कार हराउँदै गएको बताएका छन् ।सहि शिक्षा नहुँदा बालबालिकाहरुले गुरु र अभिभावकहरु प्रति गर्ने व्यवहार बिग्रिदै गएको बताएका छन् । राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आईतबार गाउँपालिकाको सभाहल मसुरियामा आयोजनामा गरेको शैक्षिक रुपान्तरणका लागि जीवन मूल्य शिक्षा, महत्व र आवश्यकता सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । त्यस्तै अध्यक्ष विष्टले जीवन उपयोगी शिक्षाकै अभावका कारण बालबालिकाहरु कुलतमा फसेको प्रति चिन्ता समेत व्यक्त गरेका छन् । बालबालिकालाई कुलतबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा पनि यस प्रकारको शिक्षाले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएका छन् ।

अध्यक्ष विष्टले जीवन उपयोगी व्यवहारिक शिक्षाको सुनिश्चितताको अभावले शिक्षण संस्था समेत बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै भएको बताए । साथै उनले अहिलेका बालबालिकाहरुमा जीवन उपयोगी र नैतिक शिक्षाको कमि रहेको उल्लेख गर्दै अबका दिनमा राप्ती गाउँपालिकाका विद्यार्थीहरुको परिचय पोशाक र परिचयपत्रले नभई व्यवहार र संस्कारले दिनुपर्ने बताएका छन् । कार्यक्रममा शिक्षा विज्ञ तथा सहजकर्ता कमल सिलवालले जीवन मूल्य शिक्षा, महत्व र आवश्यकता बारेमा प्रकाश पारेका थिए ।कार्यक्रममा राप्ती गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, वडा अध्यक्ष तथा गाउँकार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे । वडा नं.२ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक पहलमान चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे