जुवाकाे खालबाट पक्राउ परेकाका आफन्तद्धारा प्रहरी विरूद्ध अदालतमा मुद्दा दायर



जुवाकाे खालबाट पक्राउ परेकाका आफन्तद्धारा प्रहरी विरूद्ध अदालतमा मुद्दा दायर

दाङ ७ मंसिर । गत कात्तिक १६ गते रातको १ बजे घोराही उपमहानगरपालिका- १८ नवलपुरस्थित बसन्ता रावतको निर्माणाधीन घरमा जुवा खेलिरहेका पाँच जनालाई  प्रहरीले पक्राउ गर्‍यो।

जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको प्रहरी टोलीले ३ लाख २३ हजार ६० रुपैंया र पाँच थान तासको गड्डीसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो।घोराही-१० का २६ वर्षीय अनिलकुमार थापा, २५ वर्षीय केशव डाँगी,  २६ वर्षीय कमल रावत, २७ वर्षीय वसन्त भण्डारी र ३६ वर्षीय धर्म ज्ञवालीलाई प्रहरीले थुनामा राख्यो।

उनीहरू पक्राउ परेको २० दिन पुगिसकेको छ। प्रहरीले उनीहरूविरूद्ध जुवा मुद्दा चलाएको छ। यति लामो समय प्रहरीले थुनेको र समयमै सम्बन्धित निकायमा नबुझाएको भन्दै पक्राउ परेकाका परिवारले गत शुक्रबार दाङ देउखुरी जिल्ला अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा हाले।

मुद्दामा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय दाङ र जिल्ला अनुसन्धान अधिकृतलाई विपक्षी बनाइएको छ।पक्राउ परेका धर्म ज्ञवालीकी पत्नी खिमा थापा, कमल राउतका बुवा शोभाराम राउत, केशव डाँगीका बुवा धर्मबहादुर डाँगी, अनिलकुमार थापा क्षत्रीका बुवा भीमकुमार थापा क्षत्री र वसन्त भण्डारीका बुवा  रामप्रसाद भण्डारीले अदालतमा अन्तरिम आदेशसहितको बन्दी प्रत्यक्षीकरणयुक्त निषेधाज्ञा वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी मुद्दा दायर गरेका हुन्।

निवेदनमा उनीहरूले अनुचित बिलम्ब बिना पुर्पक्षको सुनुवाइ अधिकारबाट बञ्चित गराई विपक्षीहरूको काम कारबाही दुरासयपूर्ण देखिएको र सामान्य प्रकृतिको मुद्दामा पनि लामो समय २५ दिनसम्म अनुसन्धान गर्ने अवधि रहेको भन्दै अनुसन्धान गर्ने बहानामा प्रहरीले दुरासय र बदनियत  राखेको आरोप लगाएका छन्।

त्यसका साथै निवेदनकर्ताका घर परिवारले प्रहरीले जुवामा पक्राउ गरेकाहरूमाथि विगतको लेनदेन कारोबारसँग सम्बन्धित मालपोत कार्यालयबाट पारित राजीनामा लिखत र ऋणीहरूले विगतमा काटेको चेकका सम्बन्धमा सोधपुछ गर्ने गरेको, चेक च्यात्न लगाउने र अनुसन्धानका नाममा मानसिक यातना दिने  र अपमानजनक व्यवहार गर्ने गरेको पनि आरोप लगाएका छन्।

‘हाम्रा सन्तानलाई प्रहरीले जबरजस्ती कागज च्यात्न लगाएको छ र सम्पत्ति नोक्सान पार्न खोजेको छ,’ निवेदक एकजनाले भने सेतोपाटीसँग भने, ‘प्रहरीले विगतमा घरमा राखेका चेक, तमसुक माग गर्नु बदनियत हो कि हैन?’ प्रहरीले जबरजस्ती चेक च्यात्न  दबाब दिने गरेको तथा नच्याते ठगी मुद्दा लगाउने  भन्दै धम्क्याउने गरेको उनले बताए।

जुवामा पक्राउ परेकालाई विभिन्न समयमा आर्जित सम्पत्तिको स्रोत पुष्टि गर्ने, सुन, गरगहना, मोटरसाइकल  पनि अनुसन्धानको सिलशिलामा ल्याएर दुःख दिनुले प्रहरीको नियतमा आशंका पैदा भएको उनको आरोप छ। अधिवक्ता प्रदीप गौतमले सामान्य मुद्दामा प्रहरीले २०-२२ दिनसम्म थुनेर दुःख दिन खोजेको र अनुसन्धान नै दुरासय देखिएको भनेर निवेदन दिएको बताए।

तीन दिनभित्र उपस्थित गराउन आदेश

यसै बीच जुवामा पक्राउ परेकाका परिवारको निवेदनमाथि सुनुवाइ गर्दै दाङ देउखुरी जिल्ला अदालतले आइतबार तीन दिनभित्र समातिएका बन्दीसहित उपस्थित हुन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ।

जिल्ला न्यायाधीश हिमलाल बेलबासेको एकल इजलाशले निवेदकको मागबमोजिमको बन्दीलाई छाड्नु पर्ने वा आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सो समेत खुलाई सम्वन्धित कागजातको प्रतिलिपि सहित मंसिर ८ गते उपस्थित हुन आदेश दिएको छ।

सेताेपाटी अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे