तुलसीपुरमा स्थापना हुने भयो हवाई इन्धन डिपो



तुलसीपुरमा स्थापना हुने भयो हवाई इन्धन डिपो

सुमन केसी तुलसीपुर ३ मंसिर ।

लामो समयदेखि प्रक्रियामा रहेको तुलसीपुर विमानस्थलमा हवाई इन्धन डिपो अन्ततः स्थापना हुने भएको छ । तिहार अगाडीनै टेण्डर प्रक्रियामा अगाडी वढेको फ्युल ट्यांक कहाँ राख्ने भनेर स्थान छनोट भएपछि प्रक्रिया पूरा भएको हो ।

नेपाल आयल निगमकी प्रवन्धक इन्दु शर्माका अनुसार इन्धन डिपो स्थापनाका लागि नागरिक उड्डयन प्राधिकरणसँग प्रक्रिया समेत अगाडी वढेको छ । अन्तिम प्रक्रियाका लागि तुलसीपुरमा आयोजना गरिएको बैठकमा नागरिक उड्डयन प्राधिकरण र उपमहानगरपालिकाले सहकार्य गरेर स्थान उपलब्ध गराउने भएपछि प्रक्रिया पुरा भएको हो ।

‘विभिन्न कारणले अहिलेसम्म पनि प्रक्रियामा रहेको थियो अव पूर्ण हुने भयो ’ प्रवन्धक शर्माले भनिन् । उनले तुलसीपुरमा हवाई इन्धन डिपो स्थापना भएमा थप उडानको सम्भावना हुने समेत बताईन् । नेपालको पुरानो विमानस्थलले यसपटक न्याय पाउने समेत उनले बताइन् ।

कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले स्थानीय सरकारको पहलकदमीबाट विमानस्थल सञ्चालन भएको वताउँदै नयाँ नयाँ विमानहरु समेत उडानका लागि तयार रहेको वताए । ‘यहाँ इन्धन डिपो स्थापना भयो भने पहाडी क्षेत्रको उडान यहाँबाट नै गर्न सकिन्छ ’ उनले भने । हवाई इन्धन डिपोको अभावमा काठमाडौबाट नै फर्कने इन्धन समेत वोकेर आउनुपर्ने भएको हुँदा क्षमता भन्दा कम संख्यामा विमानले यात्रु वोक्नुपरेको समेत उनले वताए । ‘हवाई इन्धन डिपो स्थापनाले अरु एयरलाईन्स समेत सञ्चालनमा आउछन् भने अहिलेको भाडादर समेत कम हुन्छ’ नगरप्रमुख पाण्डेले भने ।

तुलसीपुरमा विमानस्थल प्रमुख लिला श्रेष्ठले अहिलेको समयमा इन्धन डिपोको स्थापना निकै महत्वपूर्ण भएको वताए । ‘हवाई इन्धन डिपोलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउनका लागि केन्द्रमा पत्राचार गरेको छु’ उनले भने । तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले हवाई इन्धन डिपो स्थापनाका लागि माया मारिसकेको बताउँदै पछिल्लो पटक केही आशा पलाएको सुनाए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे