देउखुरीकाे सिसहनियाँ स्थित प्रगतिनगर सहरी खानेपानी आयोजनाकाे ट्यांकी निर्माणमा चरम लापार्वाही



देउखुरीकाे सिसहनियाँ स्थित प्रगतिनगर सहरी खानेपानी आयोजनाकाे ट्यांकी निर्माणमा चरम लापार्वाही

भालुवाङ ३१ भदाै । राप्ती गाउँपालिका वडा नंं ८ निवासी उपभोक्ता विष्णु गुरुङको धारामा पानी नआएको एक हप्ता हुन थाल्यो। नयाँ खानेपानी आयोजना लागु भएपछि पानीको दुःख सधैंको लागि समाधान हुने आशामा बसेका उपभोक्ता अहिले धारामा पानी नआउँदा समस्यामा छन्।

नयाँ आयोजनाबाट पानी वितरण थालेको चार महिनामै पानी ट्यांकी चुहिएको छ। अहिले पानी वितरण रोकेर ट्यांकी मर्मत गर्न थालिएको छ। ३० करोड बढीको लागतमा निर्माण भएको प्रगतिनगर शहरी खानेपानी आयोजनाको पानी ट्यांकीबाट पानी चुहिने समस्या देखिएको हो । २ पटक उक्त ट्यांकीकाे मर्मतसम्भार गरिसकिएको छ।

वैशाख १ गतेदेखि खानेपानी आयोजनाबाट पानी सञ्चालनमा आएको थियो। पटक-पटक पानी वितरण रोकिँदा उपभोक्ता मारमा परेका छन्। प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भाद्र २५ गते बेलुकादेखि पानी वितरण रोकिएको जनाएको छ।

हाल पानी वितरण रोकेर मर्मत कार्य भइरहेको समितिका उपाध्यक्ष तारा घिमिरेले बताइन्। पानी चुहिने समस्या भएको हुँदा केही दिन पानी वितरण बन्द गरी ट्यांकी मर्मत भइरहेको हो।

‘पानी वितरण भइरहेको थियो। एक्कासि ट्यांकीबाट पानी चुहिन थाल्यो। पानी वितरणलाई रोकेर मर्मतमा ध्यान दिएका छौँ’, उनले भनिन्, ‘निर्माण कम्पनीले मर्मतको काम जारी राखेको छ। छिट्टै काम सकेर पानी वितरण हुन्छ।’

यसरी पानी वितरण रोकिँदा एक हजार ८ सय १५ घरधुरी पानीबाट बञ्चित हुनु परेको छ। पानी ट्यांकी निर्माण गर्दा निर्माण कम्पनीले ध्यान नदिँदा अहिले समस्या आएको पाइएको छ। अहिले ‍ट्यांकीकाे भित्री भागमा पानी रसाउने चरहरू टाल्ने काम चलिरहेको छ।

सञ्चालन भएको एक वर्षसम्म कम्पनी जिम्मा हुने हुँदा समस्या उत्पन्न हुँदा निमार्ण कम्पनीको ५ प्रतिशत रकम रोक्का रहेको छ। काम सम्पन्न नहुँदै ५ प्रतिशत रकम भुक्तानी नहुने समितिले जनाएको छ।

३० करोड २९ लाख ९६ हजार ७ सय ६२ रुपैयाँ ५ पैसामा रमन सगरमाथा जेवीले खानेपानीको काम गरेको थियो। एडिबीको सहयोगमा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास समितिबाट २५ प्रतिशत ऋण सहयोग र ५ प्रतिशत प्रत्यक्ष उपभोक्ताको सहयोगमा निर्माण भएको छ।

यसैगरी पिपरीदेखि छोड्की सिसहनियाँसम्म बाटो बिस्तार गर्ने क्रममा त्यहाँको पाइपलाइन बिग्रिएको छ। जसकारण अहिले करिब ७५ घरधुरी पानीबाट बञ्चित हुनु परेको छ।

उपभोक्ता समितिले पटक-पटक गाउँपालिकामा यसको जानकारी समेत गरिएको समितीका कोषाध्यक्ष भरत पाण्डे बताए। बाटो निमार्ण गर्दा पाइपलाइन बिग्रिएको र पुरै नयाँ लाइन विस्तार गर्नु पर्ने अवस्था छ। तर, यसको सुनुवाइ अझै हुन सकेको छैन।

राप्ती गाउँपालिका वडा नं. ५, ७ र ८ को दुई हजार ४ सय ६ घरमा पानीको वितरणको योजना हो। इनार र ह्यान्डपम्पको पानी उपभोग गर्दै आएका उपभोक्तालाई २४ घण्टा शुद्ध खानेपानी वितरण गर्ने योजनाअनुसार काम भएको थियो।

२० वर्षसम्म ४० हजार जनसंख्यालाई पानी वितरणको योजना छ। आयोजना अन्तर्गत पाँचवटा भूमिगत बोरिङ्ग, चार लाख ५० हजार लिटर पानी अटाउने र दुई लाख लिटर पानी अटाउनेगरी दुईवटा ओभरहेड ट्यांकी, दुई लाख लिटर पानी अटाउने भूमिगत पानी टंकी निर्माण गरिएको छ।

– देश सञ्चारबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे