गढवा गाउँपालिकाले निती कार्यक्रमका लागि सुझाव संकलन गर्दै



गढवा गाउँपालिकाले निती कार्यक्रमका लागि सुझाव संकलन गर्दै

गढवा २९ जेठ । आगामी असार १० गते भित्र गाउँसभा गर्ने तयारी स्वरुप गढवा गाउँपालिकाले नागरिक स्तरबाट निती तथा कार्यक्रममा समावेश गर्ने सवालका सुझावहरु संकलन गर्न थालेको छ ।

शनिवार गढवा गाउँपालिकाभरका सरकारी गैरसरकारी संघसंस्था, शैक्षिक एवं बौद्धिक ब्यक्तित्वहरु तथा स्थानीय राजनितीक दलहरुलाई एकै थलोमा आमन्त्रण गरि गाउँपालिकाले बनाउँदै गरेको निती तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको हो ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल(विश्वास) को अध्यक्षता र पूर्व संबिधानसभा सदस्य रश्मीराज नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै नेपालीले जनताले प्रत्यक्ष अनूभूत गर्ने गरि बिकास निर्माण र गाउँपालिकाको सेवा प्रबाहलाई प्रभावकारीता दिनुपर्ने बताए । सरकारी बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न तिन किसीमका शिक्षकहरुलाई समान तलबको ब्यवस्था गर्नुपर्ने र शिक्षकहरुका छोराछोरीहरुलाई सरकारी बिद्यालयमै पढाउनुपर्ने बाध्यकारी ब्यवस्था गरिनुपर्ने उनले बताए ।

गढवाको समृद्धि र बिकासका लागि नदीजन्य पदार्थको संरक्षण,सम्बर्धन र उपयोगको बैज्ञानिक दायराबाट काम गर्नुपर्ने र राप्ती नदीलाई दुवैतर्फ तटबन्धन गर्नुपर्ने बताए । कोइलाबास भन्सार र कष्टमलाई सुचारु गर्न गाउँपालिकाले पहलगर्न जरुरी रहेको उनको सुझाव थियो । एक अर्को प्रसंगमा बोल्दै पूर्व सांसद नेपालीले पाँच दलिय गठबन्धनले सार्थकता पाउँदै गर्दा एमसिसी पास गरेर नेपालको राष्ट्रियता गंभिर मोडमा पुगेको उनको भनाई थियो ।

कार्यक्रममा दुई दर्जन बढी ब्यक्तिहरुले गढवाको समृद्धि र बिकासका लागि निती कार्यक्रममा समावेश गर्नुपर्ने भन्दै सुझाव दिएका थिए । गाउँपालिकाको निती तथा कार्यक्रममा किसानहरुलाई सहज ढंगले मलखादको आपुर्ति गर्न, नदीजन्य पदार्थको उत्खनन र चोरी निकासीमा नियमन गर्न, गाउँपालिकाको सेवा प्रबाहलाई प्रभावकारी बनाउन, सुचनाहरुको नाथरिक सम्म सहज पहुँच बढाउन, नितिगत भ्रष्टाचारमा शुन्य संयमशिलता अपनाउन, सरकारी बिद्यालयहरुको गुणस्तर सुधारमा ठोस योजनाहरु बनाएर कार्यान्वयन गर्न तथा संभावित बिपद जोखिमका लागि पुर्व सतर्कताका कार्यक्रम तय गर्न स्थानीयहरुले माग गरेका छन् ।

त्यसैगरी कृषि उत्पादन भण्डारणका लागि सितगृह निर्माण गर्न, कृषि उपजको बजारीकरणमा सहज पहुँच बढाउन, वालमैत्री स्थानीय शासनको गाउँपालिका घोषणाको कार्यक्रम बनाउन, अपांग मैत्री संरचना निर्माण गर्न, कोइलाबासको भन्सार सुचारुगर्न सम्बन्धित निकायमा पहल गर्न, सहकारी संस्थाहरुको नियमन र ब्यवस्थापन गर्न, गढवा बजार ब्यवस्थापन गरी शुन्दर नगरीको अवधारणा ल्याउन, घरेलु तथा साना उद्योग ब्यवसाय प्रबर्धन गर्न, बड्कापथ सिचाई आयोजना निर्माणमा स्थानीय संग समन्वय सहकार्य गरि योजना निर्माणलाई साकार पार्न तथा अल्पकालिन र दिर्घकालीन गुरुयोजनाहरु निर्माण गरि गढवालाई शुन्दर, समुन्नत र समृद्ध गर्ने निती तथा कार्यक्रम बनाएर बजेट समेत ब्यवस्थापन गर्न कार्यक्रमका सहभागिहरुले गाउँपालिकालाई सुझाएका थिए ।

निती कार्यक्रममा समावेश गर्नेगरी सहभागीहरुबाट लिखित सुझाव समेत संकलन गरिएको छ । कार्यक्रममा आएका सुझावहरुलाई कार्यान्वयन गर्ने क्रममा निती कार्यक्रममा समावेश गर्ने गाउँपालिकाका अध्यक्षले प्रतिबद्धता जाहेर गरेका छन् । गढवाको समग्र बिकास र समृद्धिका लागि कोही पनि पक्ष प्रतिपक्ष नबनेर सकारात्मक ढंगले सल्लाह सुझाव सहित सहयोग गर्न उनले आग्रह गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आर्थीक प्रशासन प्रमुख पुनाराम शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे